जोगिटार । काभ्रेको मण्डनदेउपुर नगरपालिका र इकोहिमाल नेपालको सहकार्यमा विश्वव्यापी सरसफाई अभियान अन्तर्गत नगरपालिकाको वडा नं. १० मा रहेको हरित पार्कमा शुक्रबार सरसफाई कार्यक्रम सञ्चालन गरियो ।
कार्यक्रम नगर उपप्रमुख विष्णुमणि नेपालको प्रमुख आतिथ्यतामा भएको हो । सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख नेपालले भन्नुभयो, ’समाज नबनेसम्म पालिका बन्न सक्दैन, समाज बनाउनका लागि सबैले सहकार्य गर्न आवश्यक छ । काम नगरेसम्म समाज पनि परिवर्तन गर्न सकिँदैन । यो पार्क यस पालिकाको एउटा गहना हो र पहिलो पार्क पनि । त्यसकारण हामी स्थानीयले माया ममता र संरक्षण गर्नु अति आवश्यक रहेको छ ।’
कार्यक्रममा विशिष्ठ अतिथी प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल तथा इकोहिमाल नेपालका कार्यक्रम अधिकृत धर्मराज पौडेलको उपस्थिती रहेको थियो ।
स्थानीय समुदाय, इको हिमालका कर्मचारीहरु, आमा समूह बालक्लव स्वास्थ्य कार्यालय, सहकारी संस्थाहरुको उपस्थितीमा हरित पार्क सरसफाई गरिएको थियो । यो पार्क कोरोनाको समयमा गाउँका युवाहरुको सक्रियतामा निर्माण भएको थियो । कार्यक्रम वडा नं. १० का वडा अध्यक्ष कुमार तामाङको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।
