धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम नेतृत्वको टोलीले भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनी भएका जनप्रतिनिधि, नगरपालिका भवन तथा प्रहरी चौकीहरुको स्थलगत अवलोकन गरेको छ ।
सोमबार धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठको घर, एमाले जिल्ला पार्टी कार्यालय, नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय र बनेपा नगरपालिकामा टोलीले अवलोकन गरेको थियो ।
यस्तै जिल्ला ट्राफिक कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय बनेपा, पनौती नगरपालिकाका पूर्वमेयर भीमप्रसाद न्यौपानेको घर, उपप्रमुख गीता बञ्जाराको घर, नगरप्रमुख रामशरण भण्डारीको घर, पूर्वसांसद शिव हुमागाईंको घर, पनौतीका वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको घर र क्याप्टेन रामेश्वर थापाको घरको पनि अवलोकन गरिएको समन्वय प्रमुख दिपककुमार गौतमले जानकारी दिनुभयो ।
सो क्रममा आन्दोलनका नाममा नागरिकका घर र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्यको निन्दा र भत्र्सनाका साथै पीडितहरुमा सान्त्वना प्रदान गरिएको उहाँले बताउनुभयो । सो आन्दोलनमा जिल्लाका १८ वटा निजी र सार्वजनिक भवनहरुमा तोडफोड र आगजनी गरिएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । संलग्नहरुलाई खोजी र कारबाही प्रक्रिया पनि अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
