काठमाडौं । यस वर्षको दशैंको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
त्यस दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ । समितिका अनुसार असोज ६ गते सोमबार घटस्थापनाका दिन बिहान ९ बजेर १३ मिनेटमा जमरा राखिने साइत थियो । सरकारी कार्यालयमा झन्डा फेर्न असोज ७ गते ९ बजेर ५३ मिनेटमा साइत थियो । असोज १३ गते बिहान ७ः१५ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।
विदेशमा कतिबेला ?
यस वर्षको बडादशैंको टीका विभिन्न देशमा लगाइने शुभसाइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विदेशमा बस्ने नेपालीका निम्ति असोज ४ गते साइत सार्वजनिक गरेको हो । देशभित्रका निम्ति नेपाल पञ्चांग निर्णायक विकास समितिले यसअघि नै साइत सार्वजनिक गरिसकेको छ ।
नेपालमा असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा दशैंको टीकाको उत्तमसाइत रहेको समितिले जनाएको छ । विदेशमा भने भारतको नयाँ दिल्लीमा अक्टोबर २ को बिहान ११ बजेर ४९ मिनेटको साइत उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ ।
