उद्धव पौड्याल
भदौ महिनाको कृष्णपक्षको दिन राति १२ बजे मथुराको झ्यालखानामा यदुवंशी वासुदेवकी पत्नी देवकीको गर्भबाट श्रीकृष्णको जन्म भएकोले यस दिनलाई कृष्ण जन्मोत्सवका रुपमा भव्य, शान्त र सभ्य ढंगले यो पर्व मनाइन्छ ।
विभिन्न धार्मिकस्थल, पाटन कृष्ण मन्दिर र नेपालका प्रसिद्ध श्रीकृष्ण मन्दिरहरुमा यो दिन बिहानदेखि राति १२ बजेसम्म गाना गाएर, नाचेर, भजन किर्तन गरेर हर्षाेल्लासका साथ यो पर्व धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक रुपले मनाइने गरिन्छ । काभ्रे जिल्लामा पनि विशेष गरी बेथानचोक नारायणथान, दाप्चा क्षेत्र आदि स्थानमा हर्षाेल्लासकाम साथ सिन्दुर यात्रा गरेर भगवान् श्रीकृष्णलाई रथमा राखेर नगर परिक्रमा गरी बाजागाजाका साथ धुमधामसँग यो पर्व मनाइने गरिएको छ ।
देशभर श्रीकृष्ण लीला महिमा कथा वाचन, श्रीकृष्ण पूजन, उपासना, हवन, कीर्तित गरेर यो पर्वलाई अझै जीवन्त दिँदै आइरहेको पाइन्छ । किंवदन्ती अनुसार वि.सं. १६९३ देखि पाटन कृष्ण मन्दिरको निर्माण पञ्चात् र वि.सं. १७०५ देखि हनुमान ढोका, आठकुने कृष्ण मन्दिरमा यस दिन बिहानै देखि व्रतालु भक्तजनको भीड लाग्ने गर्छ । यी दुवै ऐतिहासिक स्थानको निर्माण र साँस्कृतिक पर्व चलाउने प्रथा पाटनमा सिद्धिनरसिंह मल्लले र हनुमान ढोकामा प्रताप मल्लले मयो पर्व बनाउन सुरु गरेको कुरा इतिहासमा उल्लेख छ । यसैगरी भारतको मथुरा, वृन्दावन, द्वारिका आदि क्षेत्रमा पनि यो पर्व मनाइन्छ ।
कंशरुपी (असुरी) दानवी प्रवृत्तिको नष्ट गरी पृथ्वीमा शान्ति स्थापना र भक्तवत्सलहरुको रक्षा गर्ने एक कर्मयोगी पुरुषका रुपमा श्रीकृष्णलाई मानिन्छ । महाभारत १८ पर्वमा श्रीकृष्णको पराक्रम र श्रीमद्भागवत पुराणमा उनको लीलाको वर्णन गरिएको छ । भगवान्को रुपमा उनलाई हिन्दूधर्मको आत्मसाथ गरेको छ भने उनको पराक्रम सत्यमाथिको साथ र विजय गराउन साहाय भएर उभिने गरेका श्रीकृष्णलाई भागवत् गितामा उनको उपदेश, नैतिक शिक्षाका रुपमा मात्र नभएर पारमार्थ ज्ञानका रुपमा समेत ग्रहण गरिन्छ ।
अन्याय, अत्याचार, व्यभिचारी आदिका रुपमा उनलाई उभ्याएर शक्ति प्राप्त गरी धर्म स्थापना गर्न र सनातनी धर्मको जगेर्ना गर्न उनका उपदेशहरु अत्यन्त महत्वपूर्ण रुपले ग्रहण गरिन्छ । निसहाय, असहाय महिला, बालबालिका र गाइको रक्षाका लागि श्रीकृष्णबाट पु¥याइएको योगदानको स्मरण पनि यस दिनले गराउँछ । जब संसारमा पाप बढ्छ, तब त्यसको अन्त्य गर्न र सर्वसाधारणको रक्षा गर्न नयाँ शक्तिको रुपमा भगवान् श्रीकृष्णको जन्मलाई लिने गरिएको छ ।
