धुलिखेल । देशभरि नै १५१ औं विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ। जिल्ला हुलाक कार्यालय काभ्रेपलाञ्चोकले पनि यो दिवस बिहीबार उत्कृष्ट कर्मचारीलाई सम्मानका साथै मानव सेवा आश्रमका आश्रितहरूलाई खाना खुवाउने कार्यक्रम गरि मनाएको छ ।
दिवसका अवसरमा कार्यालयले धुलिखेल नगरपालिका वडा नं १२ स्थित मानव सेवा आश्रमका आश्रितहरूलाई खाना खुवाउने र उनीहरुलाई कपडा र फलफूल वितरणका साथै कार्यालय परिसर सरसफाई र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरेको हो ।
जिल्ला हुलाक कार्यालय काभ्रेका प्रमुख हुलाक अधिकृत दिपककुमार नेपालीका अनुसार मानव सेवा घरमा रहेका ५० जना जेष्ठ नागरिकलाई खाना खुवाएर, टिसर्ट र फलफूल वितरण गरिएको थियो । बिहीबार कार्यालयमा आयोजित कार्यक्रममा भने उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा जिल्ला हुलाक कार्यालयका एलिसा पुलामी, सरिता बजगाईं, रिना तोलाङ्गे, जयन्ती भण्डारी, बनेपा हुलाक कार्यालयका भोजकुमारी लामा, रोशीका सन्तोषी अधिकारी, महाभारतका दिनेशकुमार थापामगरलगायत थिए ।
यस्तै हुलाक कार्यालय पनौतीका प्रमुख प्रेमप्रकाश खत्री, अतिरिक्त हुलाक कार्यालय देवीटारका डाँकबाहाक सानुमाया तामाङ, हुलाक कार्यालय बनेपाका दिपक खड्का र अतिरिक्त हुलाक कार्यालय नालाका सुनिल श्रेष्ठ तथा अवकाश प्राप्त कर्मचारी सुजनबहादुर राई दनुवारलाई सम्मान गरियो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने र जिल्ला हुलाक कार्यालय काभ्रेका प्रमुख हुलाक अधिकृत दिपककुमार नेपालीले उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी न्यौपानेले सूचना आदानप्रदानको भरपर्दो माध्यम हुलाकको महत्व अझै रहेको भन्दै यसको कार्यक्षेत्रसमेत बढ्दै गएको बताए । कार्यक्रममा हुलाक अधिकृत नेपालीले हुलाक एउटा संस्कृति भएको भन्दै यसलाई निरन्तरता दिन सके सूचनाको हक प्रत्याभूति हुन सक्नेमा जोड दिए । उनले स्मार्ट हुलाकको अवधारणा आएको भन्दै हुलाक कार्यालय बनेपालाई स्मार्ट कार्यालय बनाउनका लागि प्रस्ताव गरिएको जानकारी दिए ।
कार्यक्रममा हुलाक कार्यालय काभ्रेका विभिन्न पालिकामा रहेका शाखाहरुमा कार्यरत कर्मचारी, वरिष्ठ पत्रकार मधुसुदन गुरागाईंलगायत संचारकर्मीहरु र सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला हुलाक कार्यालय काभ्रेका प्रमुख हुलाक अधिकृत दिपककुमार नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
