काभ्रे । ऊर्जा, भौतिक योजना तथा शहरी विकासमन्त्री कुलमान घिसिङ बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको स्थलगत अवलोकनमा पुगेका छन् ।
उनले बिहीबार काभ्रेको नमोबुद्ध नगरपालिका–६, चौकीडाँडास्थित रोशी खोलाले पु¥याएको क्षति अवलोकन गरेर त्यहाँ भइरहेको मर्मतका बारेमा जानकारी लिएका छन् । यसक्रममा उनले राजमार्गलाई दुई दिनभित्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशनसमेत दिएका छन् ।
मन्त्री घिसिङले तत्काल उपलब्ध स्रोत र साधनको प्रयोग गरी काम शुरु गर्न स्थानीय पालिका तथा सडक डिभिजन कार्यालयलाई पनि निर्देशन दिए । अवलोकन र निरिक्षणका क्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, रोशीका अध्यक्ष दिनेश लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, विभिन्न पालिकाका अन्य जनप्रतिनिधीहरुलगायत सरोकारवाला निकाय र स्थानीयहरुको उपस्थिती रहेको थियो ।
गत असोज १८ र १९ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पु¥याएको छ। राजमार्ग पुनः सञ्चालनका लागि अहिले काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ स्थानमा डाइभर्सन निर्माणको काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
