महाभारत । विपदबाट क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माणका लागि तत्कालै राहतको अनुरोधसहित बाढीप्रभावित काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले संघीय सरकारका मन्त्री कुलमान घिसिङलगायतसँग भेट गर्नुभएको छ ।
ऊर्जा सहरी विकास तथा भौतिक योजना मन्त्री कुलमान घिसिङसँगको छलफलमा तत्कालै बीपी राजमार्ग खोल्ने, रोशी खोलाको थान्सिङबेँसीमा तत्कालका लागि बेलीबृज राख्ने र दीर्घकालका लागि पक्की पुल राख्ने विषयमा भएको छलफल अत्यन्तै सकारात्मक भएको अध्यक्ष जिम्बाले बताउनुभयो ।
यस्तै बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग पनि भेट र छलफल भएको छ । उहाँसँगको छलफलमा विपदबाट क्षतिग्रस्त संरचनाहरु पुनःनिर्माण तथा राहत उद्दारका लागि स्थानीय तहहरुबाट तत्कालै विवरण संकलन गरी विवरणअनुसार नै राहत तथा पुनःनिर्माणका लागि आवश्यकता अनुसार सहयोग गर्ने विषयमा छलफल भएको छ ।
उता राष्ट्रिय विपद् जोखिम प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसँग पनि विपदबाट क्षतिग्रस्त निजी घर पुनःनिर्माण तथा तत्काल अस्थायी आवास निर्माण गर्ने विषयमा छलफल भएको अध्यक्ष जिम्बाले जानकारी दिनुभयो । सबै छलफलमा सकारात्मक सल्लाह भएको र सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो । गत असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाले महाभारत गाउँपालिकाबाट सदरमुकाम जोड्ने सबैखाले सडकहरु अवरुद्ध भएका छन् । पालिकामा विजुली पनि अवरुद्ध भएकोमा अहिले सुचारु गराउन काम भइरहेको छ ।
बीपी राजमार्ग खुलाउन स्थानीय तहहरुबीच सहमति भइ काम शुरु भइरहेको अवस्थामा प्रदेश र संघीय सरकारबाट सहयोगको मागसहित अध्यक्ष जिम्बाले भेटघाटलाई तिव्रता दिनुभएको हो ।
