बनेपा । गत वैशाखदेखि हालसम्म देशभर भएका विपद्का घटनामा ३१४ जनाको मृत्यु भएको छ । कूल चार हजार एक सय ९७ विपद्का घटना भएका छन् । जसबाट ८ हजार ६२७ घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यो असोज २२ गतेसम्मको तथ्यांक हो ।
सो अवधिमा १ हजार १२२ जना घाइते भएका छन् । यस्तै, ३२ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार साढे ६ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । एक हजार ३९१ वटा आगलागीका घटना हुँदा २४ जनाको मृत्यु भएको छ भने एक सय ९२ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ५१२ घरपरिवार प्रभावित भएका छन् । बाढीका ३१३ घटना हुँदा ३७ जनाको मृत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा तीन हजार ३०३ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ५४२ वटा पहिरोका घटना भएका छन् । पहिरोमा परेर ६६ जनाको मृत्यु भएको छ भने ७७ घाइते भएका छन् । ८ जना बेपत्ता भएका छन् ।
यसैगरी यसबीचमा भारी वर्षाका मात्रै ४१२ घटना भएका छन् । त्यसमा परेर ७ जनाको ज्यान जाँदा १८ घाइते भएका छन् भने ९९१ परिवार प्रभावित भएका छन् । ३४९ वटा चट्याङका घटना दर्ता भएका छन् । चट्याङमा परेर ४४ जनाको ज्यान गएको छ भने २५९ जना घाइते भएका छन् । यस्तै, ४२८ परिवार प्रभावित भएका छन् । सर्पदंशका ४४३ घटना भएका छन् । सर्पको डसाईबाट ८७ जनाको ज्यान गएको भने ३६० जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार, वन डढेलोका १५८ घटनामा परेर दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । त्यस्तै, हावाहुरीमा २८५ घटना हुँदा आठ जनाको निधन भएको छ भने ४४ घाइते भएका छन् । हावाहुरीमा परेर ५४२ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका २३८ घटना घट्दा २२ जनाको निधन भएको छ । यस्तै, १०८ जना घाइते हुँदा ३९५ परिवार प्रभावित भएका छन् ।
विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको र पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ ।
वाढीपहिरोबाट ५३ जनाको मृत्यु, ४७ जना घाइते 
असोज १७ गतेदेखि २० गतेसम्म भएको अविरल वर्षासँगैको वाढीपहिरोबाट बिहीबारसम्म ५३ जनाको मृत्यु भएको छ । जसमा पुरुष २५ जना र महिला २८ जना रहेका छन् । मृत्यु हुनेमध्ये १५ जना बालबालिका रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो तथ्यांक अनुसार पहिरोमा परेर इलाममा ३८ जना, खोटाङमा एक र उदयपुरमा खोलाले बगाएर दुई जना तथा रौतहटमा चट्याङ लागेर तीन जना र पाँचथरमा दुई जनाको मृत्यु भएको हो ।
यस्तै काभ्रे, सुनसरी, भोजपुर र मोरङमा एक, एक जनाको मृत्यु भएको छ । धनुषामा दुई जनाको मृत्यु भएको छ । उता इलाममा एक र रसुवामा चार जना गरि ५ जना बेपत्ता भएका छन्, ४७ जना घाइते छन् ।
प्राधिकरणले दिएको जानकारी अनुसार इलाममा पहिरोमा परेर २६ जना, पाँचथरमा तीन जना, भोजपुरमा चट्याङ लागेर तीन जना, खोटाङमा तीन र मकवानपुरमा एक जना चट्याङ लागेर घाइते भएका छन् । ललितपुरमा २, मकवानपुरमा १, ताप्लेजुङमा एक, धनकुटामा २ गरि २४ जना घाइते भएका छन् ।
५० वटा जिल्ला प्रभावित हुँदा ९९ वटा घटना भएका छन् । उद्धार र सहयोगका लागि देशभर २ हजार ५४७ सुरक्षाकर्मी परिचालित भएका थिए । यसबीचमा इलाममा दुई जनासहित १८ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ । विभिन्न माध्यमबाट १८७ जनाको उद्धार गरिएको छ ।
बीपी राजमार्ग सुचारु, नियमित संचालनका लागि केही दिन लाग्ने
बाढीले क्षतिग्रस्त बीपी राजमार्ग एकतर्फी सुचारु भएको छ । असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगैको बाढी पहिरोबाट राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग सिधा जोड्ने उक्त राजमार्ग अवरुद्ध भएको थियो ।
राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीका विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायीरूपमा मर्मत गरी एकतर्फीरूपमा सञ्चालन गरिएको हो ।
सडक दुईतर्फी सञ्चालनमा आउन केही दिन लाग्ने रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनका अनुसार अझै ठाउँ ठाउँमा रोलिङ र ग्रेडिङ मिलाउने कार्य भइरहेको छ। यसकारण यातायात केही असहज हुने सडक विभागलाई उदृत गर्दै अध्यक्ष लामाले जानकारी दिए ।
अवरुद्ध सडक खुलाउन काभ्रेका नमोबुद्ध, रोशी, महाभारत, तेमाल र सिन्धुलीका सुनकोशीलगायत पालिकाहरुले रोशीखोलामा डाइभर्सन निर्माण गर्न सहमति गरेका थिए । सोही अनुसार गत सोमबारबाट मर्मत शुरु गरिएको थियो। बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पु¥याएको थियो ।
क्षति पुगेका सडकको पुनर्निर्माणका लागि १२ अर्ब ३८ करोड लाग्ने 
असोज १८, १९ र २० गते र त्यसअघिको बाढीपहिरोका कारण क्षति पुगेका सडकको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति भएका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो । गत वर्षको विपदबाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि एक अर्ब ७० करोड रुपैयाँ लाग्ने र ती सडकको पनि पुनर्निर्माण कार्य बाँकी नै छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताएका छन् । यस वर्षको मनसुनजन्य विपदबाट सबैभन्दा बढी क्षति मची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट–मुग्लिङ, बीपीलगायत राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ ।  वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *