धुलिखेल । आगामी कात्तिक २० गतेदेखि मंशिर ३ गतेसम्म धुलिखेल महोत्सव हुने भएको छ । आकाश भैरव क्लव, धुलिखेलको आयोजना, धुलिखेल नगरपालिकाको संरक्षण र लालिगुराँस क्रियसन मिडियाको व्यवस्थापनमा महोत्सव हुन लागेको हो ।
विभिन्न एक सय वटा स्टल रहने महोत्सव धुलिखेल रंगशाला परिसरमा गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘धुलिखेल नगरपालिकाको परम्परा, कला, संस्कृति, जनजाती, भेषभुषा, भौगोलिक परिचय र पर्यटनको निम्ती’ भन्ने मूल नाराका साथ काभ्रेको परम्परागत कला, संस्कृति, औधोगिक व्यापार, घरेलु, कृषि तथा खेलकूद पर्यटन प्रवद्र्धनका निम्ति प्रथम काभ्रे धुलिखेल महोत्सवको आयोजना गरिएको क्लवका अध्यक्ष पुकार श्रेष्ठले जानकारी दिनुभयो ।
यसका लागि आवश्यक तयारी पूरा गरिएको र अब स्टल निर्माणको काम शुरु भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यहाँ साइजअनुसार न्यून शुल्क लिएर स्थानीय व्यापारीहरुलाई स्टल उपलब्ध गराइने छ । महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, खाद्य, अटोमोबाइल, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरु रहनेछन् । यस्तै रोटेपिङ, ड्राइगन, नाउ, मिनी बन्जीजम्प, वाटर बल्ब, मिकी माउस, टेम्पलिङ्ग, स्कारपियो आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुका हास्यव्यङ्ग्य तथा गीतसंगीतको प्रस्तुति पनि रहने बताइएको छ ।
काभ्रे, सिन्धुपाल्चोक, भक्तपुरलगायतका जिल्लाका नागरिकले समेत महोत्सवको लाभ लिन सक्नेछन् । महोत्सवमा विद्यार्थीका लागि ५० रुपैंयाँ, अन्य सर्वसाधारणका लागि एक सय रुपैंयाँ तथा जेष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । शुक्रबार, शनिबार र सरकारी बिदाको दिनमा मात्र शुल्क लाग्ने र अरु दिन प्रवेश निःशुल्क रहनेछ । यहाँ प्रतिस्टलको भाडा १५ हजार ५०० लाग्ने र अवस्था हेरेर छुट पनि हुने आयोजकले जनाएको छ । १३ दिनसम्म हुने महोत्सवमा १ करोड बराबरको कारोबार हुने र ८८ लाख खर्च हुने अनुमान गरिएको छ भने जिल्ला स्तरिय स्कूल नृत्यको पनि आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *