ज्ञानमणि नेपाल कालोटोपी/प्रदीप केसी बञ्जारा
बनेपा । अबदेखि काभ्रेपलाञ्चोकबाटै सवारीचालक अनुमतिपत्र छपाइ हुने भएको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले काभ्रेको पनौती नगरपालिका वडानम्बर ५ स्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्र पुगेर छपाइ कार्यको औपचारिक शुभारम्भ गर्नुभयो ।
यातायात व्यवस्था विभागले पहिलो चरणमा काभ्रेस्थित सुरक्षण मुद्रण केन्द्रमार्फत शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र छपाइ थालेको हो । यस क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले मुद्रण केन्द्र पुगेर छपाइ कार्यको शुरुवात गर्नुभएको हो ।
सुरक्षण मुद्रण केन्द्रमा अब दैनिक करिब ५ सयप्रति सवारीचालक अनुमतिपत्र छापिनेछन् । सम्पूर्ण प्रक्रिया पूरा भएपछि ६ महिनाभित्र १२ लाखप्रति चालक अनुमतिपत्र छाप्ने लक्ष्य रहेको केन्द्रका कार्यकारी प्रमुख देवराज ढुंगानाले जानकारी दिनुभयो । यससँगै अब नौ प्रकारका कार्डहरु केन्द्रले छपाइ गर्ने उहाँले बताउनुभयो । जसमा हुलाक टिकट, अन्तःशुल्क स्टिकर, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, एटिएम कार्डलगायत रहेका छन् । यी कार्डहरु छपाइका लागि वर्षेनी अर्बाैं रुपैंयाँ विदेशिने गरेकोमा अब स्वदेशमै कार्ड छाप्दा यो पैसा बचत हुने भएको छ ।

यहाँ काम गर्न आइपरेका विविध समस्याहरु र नीतिगत समस्याहरु रहेको थाहा पाएपछि आफूले शुरुमै समस्या सल्टाउँदै सुरक्षण मुद्रण केन्द्रबाट केही काम त गरौं भनेर प्रक्रिया अगाडि बढाइएको बताउँदै मन्त्री खरेलले शुरुवातमा सवारी चालक अनुमतिपत्र छाप्न शुरु भएको बताउनुभयो । मुद्रण केन्द्रमार्फत छपाइ गर्दा पहिलेको तुलनामा प्रति कार्ड रु. १०० सस्तो पर्ने भएको छ । यसले सरकारलाई खर्च बचतसँगै चालक अनुमतिपत्र वितरण प्रक्रियामा सहजता ल्याउने मन्त्री खरेलले जानकारी दिनुभयो ।
वर्षाैंदेखि अलपत्र परेका करोडौंका मेशिनबाट अब स्वदेशमै छपाइका कामहरु हुनु पक्कै पनि गौरवको कुरा भएको र अझ काभ्रेवासीले त यसमा झन खुशी हुनु पर्ने उहाँले बताउनुभयो । छपाइ कार्यको शुभारम्भपछि मन्त्री खरेलले परिसरको अवलोकन पनि गर्दै काममा आउने समस्याहरु सल्टाउँदै अघि बढ्न सम्बद्धपक्षलाई निर्देशन पनि दिनुभएको थियो ।


अवलोकनपछि कार्यालयका बारेमा उहाँले चासो राख्दै अलपत्र मेशिन तथा अन्य भौतिक सामानहरुको बारेमा सोधपुछ गर्नुभएको थियो । पनौतीका मेयर रामशरण भण्डारी तथा सुरक्षण मुद्रण केन्द्रका प्रमुख ढुंगानाले त्यहाँको बारेमा मन्त्री खरेललाई जानकारी गराउनुभयो ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सुरक्षण मुद्रण केन्द्र भएको स्थानका बारेमा कुनै पनि विवाद नभएको प्रष्ट पार्दै यस राष्ट्रियस्तरको छापाखानामा आज प्रिन्ट भएर सवारी अनुमति कार्ड वितरण गर्न सरकारले जिम्मा दिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफूले नगरपालिकाबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्त्रालयकी सचिव एवं मुद्रण केन्द्रकी अध्यक्ष राधिका अर्याल, मुद्रण केन्द्रका प्रमुख कार्यकारी निर्देशक देवराज ढुंगाना, यातायात ब्यवस्था विभागका महानिर्देशक राजिव पोखरेललगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *