बनेपा । काभ्रेपलाञ्चोक जिल्लाका पाँच वटा पालिकामा निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । जिल्लाको पाँचखाल, धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा स्वास्थ्य शिविर संचालन हुने भएका हुन् ।
कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल रामेछापको सहकार्य, ताइवान रुट मेडिकल पिस क्रप्स ताइवानको प्राविधिक सहयोग र सम्बन्धित स्थानीय तहको आयोजनामा हुने शिविरमा दन्तरोग, छाला तथा यौन रोग, आँखा जाँच, स्त्रीरोग सेवा लगायत ९ प्रकारका स्वास्थ्य सेवाहरु उपलब्ध हुनेछन् ।
कात्तिक २२ र २३ गते पाँचखालको बालुवास्थित आजाद माविमा शिविर हुँदैछ । कात्तिक २४ गते बेथानचोक गाउँपालिकाको आत्माविकास माविमा हुनेछ भने कात्तिक २५ गते रोशी गाउँपालिकाको मंगल जनविजय मावि, मंगलटारमा स्वास्थ्य शिविर संचालन हुनेछ ।
यसैगरि कात्तिक २६ गते धुलिखेल नगरपालिकाको बालविनायक आधारभूत विद्यालय, बडालगाउँ र कात्तिक २७ गते मण्डनदेउपुर नगरपालिका वडानम्बर ४ को महाकाली मावि, चैनपुरमा स्वास्थ्य शिविर हुने कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष डाक्टर दिलबहादुर थोकरले जानकारी दिनुभएको छ । स्वदेशी तथा विदेशी विशेषज्ञ डाक्टरहरुले प्रत्यक्ष जाँच गर्ने यी शिविरमा स्वास्थ्य परीक्षण गराउन सबैलाई आयोजकले अनुरोध गरेका छन् ।
