अबदेखि काभ्रेपलाञ्चोकबाटै सवारीचालक अनुमतिपत्र छपाइ हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले काभ्रेको पनौती नगरपालिका वडानम्बर ५ मा रहेको सुरक्षण मुद्रण केन्द्र पुगेर छपाइ कार्यको औपचारिक शुभारम्भ गर्नुभयो । यातायात व्यवस्था विभागले पहिलो चरणमा काभ्रेस्थित सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीचालक अनुमतिपत्र छपाइ थालेको हो । यसक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले मुद्रण केन्द्र पुगेर छपाइ कार्यको शुरुवात गर्नुभएको हो ।
सुरक्षण मुद्रण केन्द्रमा अब दैनिक करिब पाँच सयप्रति सवारीचालक अनुमतिपत्र छापिनेछन् । सम्पूर्ण प्रक्रिया पूरा भएपछि ६ महिनाभित्र १२ लाखप्रति चालक अनुमतिपत्र छाप्ने लक्ष्य रहेको केन्द्रका कार्यकारी प्रमुख देवराज ढुंगानाले जानकारी दिनुभयो । यससँगै अब नौ प्रकारका कार्डहरु केन्द्रले छपाइ गर्ने उहाँले बताउनुभयो । जसमा हुलाक टिकट, अन्तःशुल्क स्टिकर, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, एटिएम कार्डलगायत रहेका छन् । यी कार्डहरु छपाइका लागि वर्षेनी अर्बाैं रुपैंयाँ विदेशिने गरेकोमा अब स्वदेशमै कार्ड छाप्दा यो पैसा बचत हुने भएको छ ।
यहाँ काम गर्न आइपरेका विविध समस्याहरु र नीतिगत समस्याहरु रहेको थाहा पाएपछि आफूले शुरुमै समस्या सल्टाउँदै सुरक्षण मुद्रण केन्द्रबाट केही काम त गरौं भनेर प्रक्रिया अगाडि बढाइएको बताउँदै मन्त्री खरेलले शुरुवातमा सवारी चालक अनुमतिपत्र छाप्न शुरु भएको बताउनुभयो । मुद्रण केन्द्रमार्फत छपाइ गर्दा पहिलेको तुलनामा प्रति कार्ड एक सय रुपैंयाँ सस्तो पर्ने भएको छ । यसले सरकारलाई खर्च बचतसँगै चालक अनुमतिपत्र वितरण प्रक्रियामा सहजता ल्याउने मन्त्री खरेलले जानकारी दिनुभयो ।
वर्षाैंदेखि अलपत्र परेका करोडौंका मेशिनबाट अब स्वदेशमै छपाइका कामहरु हुनु पक्कै पनि गौरवको कुरा भएको र अझ काभ्रेवासीले त यसमा झन खुशी हुनु पर्ने उहाँले बताउनुभयो । छपाइ कार्यको शुभारम्भपछि मन्त्री खरेलले परिसरको अवलोकन पनि गर्दै काममा आउने समस्याहरु सल्टाउँदै अघि बढ्न सम्बद्धपक्षलाई निर्देशन पनि दिनुभएको थियो ।
यससँगै अब सुरक्षण मुद्रण केन्द्रले नियमितरुपमा काम पाउने भएको छ भने यहाँ अलपत्र परेका अर्बौंका संरचनाहरुको पनि सदूपयोग हुनेछ । यसले कार्ड छपाइका लागि विदेशिने पैसा जोगिन्छ भने देशभित्रका डाटाहरु विदेशमा गएर हुने सम्भावित दुर्घटनाहरुको पनि न्यूनिकरण हुने आशा गरिएको छ । भवन बनेको करिब २० वर्षपछि यसबाट काम हुनु खुशीको कुरा हो । अब यसमा भएका समस्याहरु समाधानतिर पनि सरकारले ध्यान दिनुपर्छ ।
