कुन्तावेँसी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।
नगरपालिकाको आयोजना, इकोहिमालको सहकार्य र नगरपालिकाका तीन वटा विद्यालयहरु डेडीथुम्का मावि, मण्डनभ्याली एकेडेमी र लिटिल स्टार इङ्गलिस स्कूलको व्यवस्थापनमा कार्यक्रम गरिएको हो । जसमा नगरपालिकाभरिका मावि स्कुलका किशोरी सञ्जालमा जोडिएका करिब डेढ सय विद्यार्थीहरुको उपस्थिती रहेको इकोहिमालका कार्यक्रम अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रम नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालको विशेष आतिथ्यता र पालिकास्तरिय किशोरी सञ्जालकी सपना सुन्दासको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरुका तर्फबाट वडानम्बर १२ ज्याम्दीस्थित इन्द्रावती माविका प्रधानाध्यापक वेदप्रसाद खतिवडा तथा वडाध्यक्षहरुका तर्फबाट वडानम्बर १० का वडाध्यक्ष कुमार मोक्तान तामाङ र मण्डनदेउपुर उद्योग बाणिज्य संघका अध्यक्ष बद्रीप्रसाद नेपालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
स्वागत मन्तव्य पालिकास्तरिय बाल सञ्जालका संरक्षक शिक्षक आनन्द सापकोटाले राख्नुभएको कार्यक्रममा व्यानर तथा प्लेकार्डसहित कुन्ताबेँसीदेखि पालिका भवनसम्मको फोहोर संकलन गरिएको थियो । कार्यक्रम सञ्चालन पालिकास्तरिय बाल सञ्जालकी अध्यक्ष रोशनी रम्तेलले गर्नुभएको थियो ।
