• ज्ञानमणि नेपाल कालोटोपी

मण्डनदेउपुर, काभ्रे । बालमैत्री स्थानीय शासन घोषणाका लागि काभ्रेका चार पालिकाले प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आयोजित एक कार्यक्रममा जिल्लाका मण्डनदेउपुरसहित पाँचखाल नगरपालिका तथा भुम्लु र चौंरीदेउराली गाउँपालिकाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । जिल्ला समन्वय समिति, काभ्रेको आयोजनामा बालमैत्री स्थानीय शासन घोषणा र दीगोपना सम्बन्धमा अन्तरपालिका अभिमुखीकरण तथा कार्ययोजना निर्माण एवं लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा ती पालिकाहरुले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘५१ वटा सूचकहरु पूरा गरेपछि मात्र बालमैत्री स्थानीय शासन घोषणा गर्न पाइन्छ । यसका लागि कुनै पनि पालिकाका प्रमुख, उपप्रमुख वा अन्य जनप्रतिनिधिले चाहेर मात्र हुँदैन ।’ कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले सम्बन्धित पालिकाहरुलाई निर्देशनात्मकरुपमा भन्नुभयो, ‘यसका लागि आज यो कार्यक्रम सकेर आआफ्ना पालिका पुगेपछि काम थालिहाल्नुस् ।’

कार्यक्रममा भुम्लु गाउँपालिकाका प्रमुख प्रेमबहादुर भुजेलले यो विषय चुनौतीको विषय भएपनि आगामी एक वर्षभित्र आफ्नो पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरेरै छोड्ने बताउनुभयो । उहाँले यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले घोषणा मात्र गरेर नहुने भन्दै ०८४ सालसम्म जसरी पनि कार्यन्वयन गरिछाड्ने बताउनुभयो । यस्तै चौंरीदेउरालीका अध्यक्ष रेणुका चौंलागाईंले बालमैत्री स्थानीय शासन घोषणा चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै कार्यान्वयन गर्नै नसकिने भने नभएको बताउनुभयो । यसमा सबैको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । यस्तै मण्डनदेउपुर नगरपालिकाकका प्रमुख टोकबहादुर वाइवाले अहिले धेरै विषयमा सहज भएको उल्लेख गर्दै इच्छाशक्ति हुने हो भने गर्न असम्भव नभएको बताउनुभयो । उहाँले वडाध्यक्षहरुले यसमा केही प्रतिशत बजेट छुट्याएर विशेष कार्यक्रम संचालन गर्नुपर्ने बताउँदै यसमा आफ्नो तर्फबाट सहयोग गर्न सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथी जिसस प्रमुख गौतमले बालमैत्री स्थानीय शासन घोषणाका लागि के के सूचकहरु पूरा गर्नुपर्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै विशेष अतिथी जिसस उपप्रमुख रिमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेका प्रमुख सविता दंगाल, जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति, सामाजिक विकास कार्यालय काभ्रेका प्रमुख रनमाया फ्याकलगायत विभिन्न पालिकाका वडाध्यक्ष तथा सहभागी विद्यार्थीहरुले बालमैत्री स्थानीय शासन घोषणामा सबैले मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

यी चार पालिका मध्ये मण्डनदेउपुरमा १२ वटा वडा रहेका छन् भने पाँचखालमा १३, चौंरीदेउरालीमा ९ र भुम्लुमा १० वटा वडा रहेका छन् । कूल ४४ वटा वडा मध्ये हालसम्म मण्डनदेउपुरको वडानम्बर ४ मात्र बालमैत्री स्थानीय शासन घोषणा वडा भएको कार्यक्रममा जानकारी दिइयो । सबैजसोले ०८४ सालभित्र बालमैत्री स्थानीय शासन घोषणा गरिसक्ने प्रतिबद्धता व्यक्त गरे पनि यो नतिजाले प्रतिबद्धता पूरा हुनेमा भने सहभागीहरु नै आशंकित देखिन्थे ।

कार्यक्रमको समापनसँगै उपस्थित सबैले बालमैत्री स्थानीय शासन घोषणा प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई मण्डनदेउपुरका उपप्रमुख विष्णुमणि नेपालले स्वागत गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले संचालन गर्नुभएको कार्यक्रम मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाइवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *