ज्ञानमणि नेपाल कालोटोपी
‘हात्ती आयो हात्ती आयो फुस्सा, हात्तीको मुखमा जीरा, हात्तीलाई काउकुती लगायो भने ६ महिनापछि हाँस्छ, लम्केको हात्तीलाई चम्केको घोडाले भेट्न सक्दैन, कसैलाई दान दिनु छ भने हात्ती दान दिनु, सेतो हात्ती पाले झैँ पाल्नु, हात्ती लम्किंदै गर्छ कुकुर भुक्दै गर्छ, हात्तीको लम्काइ र घोडाको चम्काइ मिल्दैन, हात्ती दिन्छु भन्ने सित बोको मागी हेर्नु, हात्तीका देखाउने र चपाउने दाँत अलगअलग हुन्छन्, भुसुनाले हात्ती रुवाउँछ, नाङ्लो ठटाएर हात्ती तर्सिदैन, हात्तीवालासँग मित्रता नगर, यदि गर्छौ भने उसको हात्ती तिम्रो घरभित्र उभिन सकोस् , हात्ती छिर्यो पुच्छर अड्क्यो, उपियाँ उफ्रँदै गर्छन् हात्ती आफ्नो गन्तव्यमा पुगेरै छोड्छ ।’
नेपालीमा हात्तीसँग सम्बन्धित यस्ता उखानहरु त हामीले सधैं सुनेकै हौं । धार्मिकरुपमा पनि हात्तीको चर्चा धेरै हुने गरेको हो । तर वास्तविकतामा हात्ती पाल्न व्यवसायीक सजिला वा असजिलाहरु के होलान् त भनेर हामीले खासै ध्यान दिएका छैनौं । हात्ती आफैंमा एउटा भिमकाय जनावर हो । यसलाई युद्धका लागि प्रयोग गरिएको पनि पाइन्छ । यातायातको साधनको रुपमा पनि हात्तीको प्रयोग भएको हामीले सुनेका छौं । बाँच्नका लागि हात्तीलाई जंगलको आवश्यकता परेपनि पछिल्ला दिनहरुमा घरमै पालेर व्यावसायीक प्रयोजनमा लगाउनेहरुको संख्या पनि वढ्दै गएको पाइएको छ । जंगलमा हुने हात्ती हिंस्रक हुने भएपनि घरपालुवा हात्ती एउटा फुच्चे माउतेको इशारामा संचालित हुन्छ । उसले चाहने हो भने मान्छेलाई परक्कै निमोठेर मार्न पनि सक्छ, घर र गाउँलाई क्षणभरमै खण्डहर बनाउन पनि सक्छ तर घरमा पालिएको हात्तीसँग इमान्दारिता हुन्छ। आफ्नो मालिकप्रति बफादारिता पनि उस्तै हुन्छ ।
नेपालमा अहिले सरकारी र व्यक्तिसँग गरि २३० वटा हात्ती छन् । जंगली हात्तीहरुको संख्यासमेत हेर्ने हो भने यो संख्यामा केही वृद्धि हुन सक्छ । विगतमा यो संख्या अलि धेरै भएको भएपनि पछिल्ला दिनहरुमा संख्या घटिरहेको छ । हात्तीको सरदर आयु ८० वर्ष हुन्छ । यसको मूल्य सुविधाजन्य कार भन्दा पनि माथि छ । एउटा हात्तीको मूल्य ७५ लाख देखि १ करोड रुपैयाँभन्दा बढी पर्ने व्यवसायीहरु बताउँछन् । एउटा हात्तीको वजन २ हजार केजीसम्म हुन्छ । यसले मासिक ५ सय केजी धान, दैनिक ३० केजी चना, २ केजी सक्खर र १ सय केजी घाँसपरालका साथै उखु र अन्य खानेकुरा पनि त्यहि अनुपातमा खान्छ ।
विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा सरकारले हात्ती पालन गरिरहेको छ । यी हात्तीलाई पर्यटकहरुको आर्कषणको रुपमा प्रयोग गर्दै जंगल सफारी (जंगल घुमफिर) गर्ने गरिएको छ । एउटा हात्तीले दैनिक १५ हजार भन्दा धेरै कमाउने व्यवसायीहरुले जानकारी दिएका छन् । भारतले हात्ती निर्यातमा रोक लगाएपछि नेपालमा यसको मूल्य वढेको छ । सरकारले हात्ती प्रजनन केन्द्र निजीरुपमा खोल्न स्विकृति दिएको छैन र सरकारीस्तरबाट पनि उत्पादन कम भएकाले नेपालमा हात्तीको संख्या वढ्न नसकेको हो । हात्तीले १५ वर्षको उमेरदेखि बच्चा जन्माउन सक्छ भने हात्तीको गर्भाधान समय २ वर्षको हुन्छ ।
सरकारले विभिन्न वन्यजन्तु आरक्ष केन्द्र, राष्ट्रिय निकुञ्ज तथा चिडियाघरहरुमा १ सय भन्दा धेरैको संख्यामा हात्ती पालिरहेको छ । त्यस्तै निजीक्षेत्रसँग १३० जति हात्तीहरु छन्। नवलपरासीको टाइगर टप्स लजसँग १६ वटा हात्तीहरु रहेको पाइएको छ भने हात्ती मालिकहरुको संख्या १ सयको हाराहारीमा रहेको भेटिएको छ । एउटा हात्तीको पालन गर्नका लागि अवस्था हेरेर मासिक डेढदेखि २ लाखसम्म खर्च हुने व्यवसायीहरुको अनुभव छ। हात्तीको उपचारका लागि पनि ठूलै रकम खर्च हुन्छ । वार्षिक २ लाखसम्म उपचारकै लागि खर्च लाग्ने बताइएको छ ।
हात्ती चढ्नका लागि प्रख्यात ठाउँ भनेको चितवन राष्ट्रिय निकुञ्ज स्थित सौराहा हो। यहाँ हात्तीसँग सम्बन्धित धेरै अनुसन्धानका लागि पनि स्वदेशी तथा विदेशी पर्यटकहरुको बाक्लो उपस्थिती हुने गरेको छ । हात्तीको पालनका लागि धेरै समस्याहरु छन् । खर्च पनि उस्तै छ तर यसको अनुपातमा आम्दानी कम भएपछि व्यवसायीहरु निराश जस्ता पनि देखिएका छन् । हात्तीको उपचार र हेरालुको खर्च दैनिकरुपमा वढिरहेको छ । यसरी हेर्दा अन्य जनावर जस्तो हात्तीलाई सोखका रुपमा पाल्न सकिने अवस्था छैन । व्यवसायिकरुपमा हात्ती पाल्नका लागि आउने गरेका समस्याहरुले गर्दा नेपालमा हात्तीको संख्या वढ्न नसकेको हो ।
एक तथ्यांक अनुसार नेपालमा वार्षिक २ वटादेखि १० वटासम्म हात्तीको मृत्यु हुने गरेको छ। जंगली हात्तीहरुको बथानले मानिसका वस्ती सखाप पार्ने र कृषि उत्पादन पनि नष्ट गरिदिने गरेपछि हात्ती भगाउनका लागि थापिने पासोमा परेर मर्ने हात्तीको संख्या धेरै छ । जसले गर्दा वर्षेनी हात्तीको संख्या घटेको हो । भारतमा पनि हात्तीको संख्या घटिरहेको तथ्यांक छ । यहाँ २७ हजार वटा हात्तीहरु रहेकोमा वर्षेनी डेढसय हात्ती मर्ने गरेपछि यहाँ हात्तीहरु बेच्न प्रतिबन्ध छ ।
नेपालमा हात्ती जोगाउन सरकारले ध्यान पुर्याएर हात्ती पालनलाई व्यवसायीक रुपमा अघि वढाउन आवश्यक रहेको छ । जसका लागि अनुदान र पालनका लागि चाहिने विविध कुराहरुमा छुट दिने हो भने हात्तीको संरक्षण हुन सक्छ । अन्यथा विश्वबाट डाइनोसर लोप भए जस्तै नेपालबाट पनि हात्ती लोप हुन सक्ने खतरा वढेको देखिन्छ ।
