ज्ञानमणि नेपाल कालोटोपी
यसअघिको प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस । जो अहिले आन्तरिक विवादमा नराम्ररी फसेको छ । पार्टी ठूलो छ, इतिहास ठूलो पनि छ । चार जनाको परिवारमा त सबैको मत मिल्दैन र चित्त बुझाउन सकिँदैन भने देशभर करिब ८ लाख क्रियाशील सदस्य रहेको पार्टीमा कहिलेकाहिँ वादविवाद हुनु सामान्य नै हो । तर यहाँ असामान्य के भयो भने अब कांग्रेस करिब करिब टुक्रियो तर पनि दुवै पक्ष कांग्रेस एक छ, चुनावमा बहुमत ल्याउँछ भन्दै आइरहेका छन् । अर्को कुरा पार्टीको विवाद यति सतहमा आइसक्यो कि अब दुई मध्ये एक पक्ष बाहिर रहने पक्का छ । यतिसम्म की कुन पक्ष आधिकारिक हो भनेर निर्वाचन आयोगसम्म पुगिसके । भलै आयोगले गगन नेतृत्वलाई मान्यता दिएको छ । तर यो विवाद अब सर्वोच्चसम्म जाने पनि निश्चित छ । यतिबेला उनीहरु एकले अर्कोलाई आरोपप्रत्यारोप लगाउँदै पानीमाथिको ओभानो झैं गरिरहेका छन् । जुन नेपाली कांग्रेसमा आस्था राख्ने जो कसैका लागि त निराशाको कुरा हो नै, समग्र देशकै लागि पनि यो पक्कै राम्रो कुरा होइन । जे नहुनु पर्ने आज त्यही भइरहेको छ ।
किन आयो त यो अवस्था ?
नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको समय अवधि गत मंसिरमै सकिएको हो । चार वर्षे कार्यअवधि सकिएपछि नियमअनुसार महाधिवेशन हुनै पर्छ । विशेष परिस्थितीमा कार्यसमितिको बैठकले ६ महिना र कुनै दलले एक वर्षसम्म थप गर्न सक्ने र ढिलोमा ५ वर्षमा महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । कांग्रेसको हकमा कुरा गर्ने हो भने यसअघि २०७८ सालमा महाधिवेशन हुँदा पनि त्यो निर्धारित समयमा भएको थिएन । पटक पटक समय थप्दै करिब डेढ वर्ष ढिलो गरि भएको थियो । अहिले पनि सभापति शेरबहादुर देउवा यसरी नै केही समय पर धकेल्दै महाधिवेशन सार्ने मनस्थितीमा थिए ।
यहि सोचले गर्दा गत असोज २८ गतेदेखि बसेको केन्द्रीय समिति बैठकले डेढ महिनासम्म कुनै निकास दिन सकेन । एकतर्फ विशेष महाधिवेशन र अर्कातर्फ नियमित महाधिवेशनका कुरा जोडदार उठिरहे भने अर्कातर्फ विशेष पनि नगर्ने र नियमित महाधिवेशन पनि नगर्ने यथास्थितीमा महाधिवेशनको मिति पर सार्ने भन्ने पनि देखिएकै हो । अन्ततः गत मंसिरमै पुस २७ देखि २९ गतेसम्म कांग्रेसको नियमित महाधिवेशन गर्ने भन्ने केन्द्रीय समिति बैठकले निर्णय गर्यो । जस अनुसार पुस १६ गते वडास्तरको अधिवेशन हुनुपर्ने थियो । त्यो मितिमा अधिवेशन नै भएन । बरु आउने फागुनको २१ गतेका लागि तोकिएको निर्वाचनपछि आगामी वैशाखमा महाधिवेशन गर्ने कांग्रेसको निर्णय सार्वजनिक भएपछि भने पार्टीको आन्तरिक विवाद राम्रैसँग सतहमा आयो ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका युवा नेताहरु विशेष महाधिवेशनको पक्षमा खुलेरै लागे भने शेरबहादुर देउवा पक्ष भने आफूसँग सबै कुराको पर्याप्त बहुमत छ, महामन्त्रीका कुरा किन मान्ने भन्ने यथास्थितीवादी सोचमै रहेको देखियो । अन्ततः महामन्त्रीद्वय शर्मा र थापाले पुस २७ गतेदेखि काठमाडौंमा भव्यरुपमा विशेष महाधिवेशन गरे । देउवा पक्षका नेताहरु आएनन् तर बहुमत महाधिवेशन प्रतिनिधि र कार्यकर्ताको उपस्थितीमा गगन र विश्वहरुले आफूले भनेजसरी नै विशेष महाधिवेशन गरेरै छोडे । यति मात्र होइन, पुरानो कार्यसमिति भंग गरेर गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरे । त्यसपछि निर्वाचन आयोगमा अद्यावधिक गर्न पुगे ।
विशेष महाधिवेशनले वर्तमान कार्यसमिति भंग गरेपछि मात्र देउवा पक्षले अलि बढी चासो दिएको देखियो । लगत्तै महामन्त्रीद्वय र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरि निस्काशन गर्ने निर्णय भयो । यसपछि भने कांग्रेसको विवाद विवादमा मात्र सिमित रहेन । फुटतर्फ लक्षित देखियो ।
कसरी शुरु भयो कांग्रेसमा दुई धार ?
हुन त नेपाली कांग्रेसमा सधैं विभिन्न धार नै देखिन्छन् । इतिहास केलाउने हो भने ०४८ यताको कुरा गर्दा कोइराला र भट्टराई अनि पौडेल पक्ष प्रष्टै देखिएका थिए । जसले नेतृत्व गर्छ उसलाई संस्थापन पक्ष मान्ने कांग्रेसको परम्परा नै हो । यसर्थ तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको एकछत्र नेतृत्व रहँदा कोइराला पक्ष आफूलाई संस्थापन भन्ने गथ्र्यो । त्यतिबेला देउवा र पौडेल पक्षहरु कोइराला पक्षभन्दा केही कमजोर थिए । जब कांग्रेसको नेतृत्व शेरबहादुर देउवाको काँधमा आयो, त्यसयता उनले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सहयोग गरेपछि पौडेलपक्षबाट मुक्ति पाएका थिए । तर सिटौलापक्ष र शेखर कोइरालापक्ष यथावत थिए । पछिल्लो पटक जब गगन र विश्वप्रकाशहरु आए उनीहरु कांग्रेसमा नेतृत्व मात्र होइन, नीति पनि फेर्नुपर्छ भन्ने अडानमा देखिए ।
गत भदौ २३ र २४ मा देशव्यापीरुपमा जेनजी पुस्ताको आन्दोलन भयो, त्यतिबेला सरकारमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्व थियो तर ठूलो पार्टीको हैसियतमा कांग्रेस थियो । जसलाई शेरबहादुर देउवाले नेतृत्व गरिरहेका थिए । भदौ २३ गते सरकारले आन्दोलन दबाउने बाहानामा १९ जना निर्दोष युवाहरुको ज्यान गयो, त्यसलगत्तै कांग्रेसलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब आए पनि देउवाले त्यसलाई नजरअन्दाज गरिदिए । २४ गते कसैले नसोचेको राजनीतिक परिवर्तन भयो । जसबाट प्रधानमन्त्री केपी शर्मा ओलीले समेत ज्यान जोगाएर भाग्नुपर्ने अवस्था आयो । शेरबहादुर देउवा त जेनजीहरुको निशानामा नै परेर घाइते मात्र भएनन्, ज्यान नै जोगाएर भाग्नुपर्यो । त्यसयता देउवाको निकै आलोचना भइरहेको थियो ।
जब कांग्रेसको केन्द्रीय समिति बैठक असोज २८ मा शुरु भयो, त्यतिबेला उनले आफू सक्रिय राजनीतिबाट अब बाहिर रहने भन्दै कार्यबाहक सभापतिको जिम्मा उपसभापति पूर्णबहादुर खड्कालाई दिएर आफू उपचारको लागि विदेशिए । त्यतिबेला देउवाको निकै प्रशंसा भयो । धेरैलाई लागेको थियो, उनले अब राजनीतिकरुपमा हस्पक्षेप गर्दैनन् । हुन पनि उनले कांग्रेसको विधानतः दुई कार्यकाल सभापति भएर काम गरिसकेपछि अर्कोपटक सभापति बन्ने अवस्था थिएन । तर जब उनी उपचारपछि स्वदेश फर्किए, त्यसपछि अप्रत्यक्षरुपमा हस्तक्षेप गर्न थाले । यसले पार्टीभित्रको आन्तरिक किचलो सतहमा मात्र पुगेन, पार्टी करिब फुटको अवस्थामा पुग्यो ।
देउवा दोषी कि गगन–विश्व ?
कांग्रेस ८० वर्षको लामो इतिहास बोकेको पार्टी हो । यहाँसम्म आइपुग्दा उसले आफूलाई प्रजातान्त्रिक शक्ति भनेर चिनाउन सफल भएकै हो । धेरै राजनीतिक परिवर्तनमा कांग्रेसको योगदान उल्लेख्य छ । यसअघि ०५९ सालमा पनि तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग अहिलेका सभापति शेरबहादुर देउवाको शक्ति संघर्ष भइरहेकै हो । आन्तरिक विवादका बीच देउवाले कांग्रेस फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक भनेर खोलेका थिए । त्यतिबेलादेखि नै देउवाले पार्टी फुटाउनेमा आफ्नो नाम दर्ता गरिसकेका हुन् । त्यो घटनाक्रम के थियो र के हुनुपथ्र्यो, अहिले नकोट्याउँ । तर पछिल्लो घटनाक्रम आउनुमा देउवाको दोष अलि बढी नै देखिन्छ, जति गगन र विश्वप्रकाशहरुको छ ।
देउवालाई पार्टीपंक्तिले यसकारण पनि अलोकप्रिय मानिरहेका थिए कि जब चुनाव आउँछ, देउवाले गठबन्धनको नाममा पार्टीका सक्रिय नेताहरुलाई पन्छाउँदै कहिले माओवादी त कहिले एमालेसँग नजिक हुने खेल खेल्थे । उदाहरणको रुपमा ०७४ सालयता २ पटक स्थानीय निकायको निर्वाचन भयो, त्यतिबेला चितवनको भरतपुरका कांग्रेस कार्यकर्ताले कहिले पनि आफ्नो पार्टीलाई भोट दिन पाएनन् । दुवै पटक प्रचण्डपुत्री रेनु दाहाललाई भोट हाल्नु पर्यो । जब प्रचण्डसँग सम्बन्ध चिसिन्छ, त्यसपछि ओलीसँग नजिक भएजसरी भएभरको विश्वास सुम्पने काम देउवाबाट भयो, यसले आफ्नै पार्टीभित्रै ठूलो असन्तुष्टि देखियो । चुनावमा गठबन्धन गर्नु हुँदैन भनेर युवापुस्ताका नेताहरु देउवाको विरुद्धमा देखिन्थे । तर उनीहरु देउवाको शक्तिसामु झुक्न बाध्य हुन्थे । किनकी बहुमत सदस्य देउवापटि नै थियो । यो कुरालाई देउवाले कहिले नदेखेजस्तो गरे, नसुनेजस्तो गरे ।
यदि देउवाले चाहेका थिए भने पछिल्लो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर आफू सल्लाहकारको भूमिकामा बस्नु पथ्र्यो । उनले त्यसो गरेनन् । यहाँसम्म की उनी आफ्ना सहकर्मीको भन्दा बाहिरी दलका नेताहरुका कुरा बढी सुन्ने र त्यही अनुसार निर्णय लिन पनि पछि परेनन् । उदाहरणका रुपमा पछिल्लोपटक ओली र देउवा भेट भएपछि ओलीकै सल्लाहअनुसार देउवाले प्रतिनिधिसभा पुनसर््थापनाको लागि सर्वोच्चमा निवेदन दिए । त्यसअघि नै एमालेले त्यो मुद्दा उठाइसकेको थियो । पहिले यसमा केही नबोलेका देउवा ओलीसँग भेट हुने वित्तिकै त्यो निर्णयमा पुगे । जसलाई पार्टीभित्रबाटै विरोध हुन पुग्यो ।
कसरी उठ्यो विशेष महाधिवेशनको मुद्दा ?
जब जेनजी आन्दोलन भयो, त्यसपछि नै कांग्रेसको नेतृत्व पनि फेर्नुपर्छ भन्ने आवाज उठ्यो । त्यतिबेला विशेष महाधिवेशन गरेर नेतृत्व फेर्नुपर्छ भन्नेमा वरिष्ठ नेता शेखर कोइराला अगाडी थिए । उनी पहिलेदेखि नै पार्टीमा रुपान्तरण हुनुपर्ने आवाज उठाउँथे । आफ्नो नेतृत्व भएमा पार्टीलाई थप बलियो बनाउनेसम्मको दाबी पनि गर्थे शेखर । उनलाई गगन थापाहरुले पनि साथ दिएका थिए । जब नियमित महाधिवेशनको मिति पुस २७ गतेका लागि तोकियो, विशेष महाधिवेशनको विषय कम हुँदै गयो । तर विशेष परिस्थिती भन्दै कांग्रेसले नियमित महाधिवेशनलाई वैशाखमा सार्ने निर्णय गर्यो, त्यसपछि भने युवा पुस्ताहरु चुप बसेनन् । बरु विद्रोह गर्न अघि सरे । जतिबेला विशेष महाधिवेशन हुने निश्चित भयो, पहिले यसकै मुद्दा उठाउने शेखर कोइराला गगन र विश्वका विपरिततिर देखिए । शेखरले ढुल्मुले चरित्र देखाए पनि विशेष महाधिवेशन भएर गगन नेतृत्वको नयाँ कार्यसमिति बन्यो । यसले निर्वाचन आयोगबाट मान्यता पनि पाइसक्यो ।
देउवाले केही योगदानै नै गरेनन् त कांग्रेसमा ?
आफ्नो करिब ८० वर्षे उमेरमा शेरबहादुर देउवाले करिब ६५ वर्ष राजनीतिमा बिताएका छन्, त्यो पनि नेपाली कांग्रेसमै रहेर । देशका हरेक परिवर्तनमा उनी साक्षी मात्र थिएनन्, त्यसको नेतृत्व पनि गरेका थिए । देशमा ५ पटक प्रधानमन्त्री भएका देउवाले कांग्रेसका लागि केही गरेनन् भन्नु ठूलो अन्याय हुन्छ । तर देशको सबैभन्दा ठूलो दलको दुई पटक सभापति भइसक्दा पनि उनले आफ्ना नेता कार्यकर्ताको बदलिएको भावना भने बुझेनन् । म नै सबैभन्दा ठूलो भन्ने मानसिकताले निकै सताएको देखिन्छ । समय अनुसार नेतृत्व फेरिनु पर्ने नै हो । हिजो कांग्रेसलाई नेतृत्व दिएकाहरुले पनि समयक्रममा छोड्दै गइरहे । देउवाले यसलाई बुझेर अघि बढेको भए शायद यति ठूलो दुर्घटनामा पर्नु पर्दैनथ्यो होला । राजनीतिमा पाउनु मात्रै ठूलो कुरा होइन नि, त्याग गर्नु पनि ठूलो कुरा हुन्छ भन्ने आफ्ना अग्रज नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईबाट सिक्नु पर्ने हो नि । यसमा देउवाको कमजोरी देखिन्छ ।
गगन र विश्व चाहिँ सही थिए त ?
यहाँ के बुझ्नुपर्छ भने, मानिस भएपछि सबैका केही न केही गल्ती कमजोरी हुन्छन् । गगन र विश्व पनि यसबाट अछुतो हुन सक्दैनन् । तर आफूले गरेको र आफ्नो नेतृत्वमा भएका गल्तीहरु सच्याएर अघि बढ्नु पर्ने अवस्थामा नेतृत्वमा रहनेहरुले नै पटक पटक गल्तीहरु दोहोर्याइरहन्छ भने त्यसलाई जिम्मेवारी लिएकाहरुले टुलुटुलु हेरेर मात्र बस्न सकिएला र ? कांग्रेसको विधानमा टेकेर उनीहरुले विशेष महाधिवेशन बोलाए, नेता कार्यकर्ताले साथ दिए, बहुमत महाधिवेशन प्रतिनिधिबाट नेतृत्व परिवर्तन गरे । यसो भनेर उनीहरु नै सर्वेसर्वा भने होइनन् । तर समयले मागेको के हो भनेर बुझ्ने खुबी भने उनीहरुमा देखियो ।
त्यसो भए अब के छ त समाधान ?
देउवा पक्षले निर्वाचन आयोगको निर्णय नमान्ने भन्दै आन्दोलन गर्ने चेतावनी दिइसकेको छ । गगन पक्ष सबैलाई उचित स्थानसहित समेटेर अघि बढ्ने बताइरहेको छ । यो अवस्थामा आन्दोलन के का लागि र किन भन्ने बुझिएन । आफ्नै साथीहरुबीचमा यतिसम्मको तल्लो तहको काम दुवैपक्षले सोच्नु पनि नहुनेमा कामै गरिसके । यही अवस्थामा समस्या समाधान गरेर आगामी निर्वाचनलाई सफल बनाउनु पर्ने दुवैपक्षको कर्तव्य हो । तर आफ्नो पक्षमा निर्णय भए राम्रो नभए आन्दोलन गर्छु भन्नु देउवा पक्षको सरासर गलत थियो । कमजोरी कहाँबाट भए, त्यहाँबाट सुधार गरेर अघि बढेको भए आज यो अवस्था नआउने निश्चित थियो । आआफ्ना हठ त्यागेर मिले दुवैलाई फाइदा छ, नमिले यसको फाइदा अरु शक्तिले उठाउँछन् । यो पक्कै हो । यहाँ कसैले मैले जितेँ भनेर घमण्ड पनि नगरी र मैले हारेँ भनेर आवेगमा पनि आउनु उचित छैन । तर सही समयमा सही निर्णय गर्न सकिएन भने यसबाट आउने परिणाम पक्कै नमिठो हुन्छ । जो यतिबेला कांग्रेसले भोगिरहेको छ ।
