ज्ञानमणि नेपाल कालोटोपी

धुलिखेल । देशभर चुनावी सरगर्मी ह्वात्तै बढेको छ । काभ्रेमा पनि चुनावी गतिविधि बढेको छ । यसैबीच जिल्लाका १३ वटा पालिकामा कुनमा कति मतदाता छन् भनेर हामीले यसपटक एक सामाग्री तयार गरेका छौं ।

सबैभन्दा कम खानीखोला गाउँपालिकामा मतदाता रहेका छन् भने सबैभन्दा बढी बनेपामा रहेका जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । खानीखोलामा ५ हजार ६१८ पुरुष, ४ हजार ९९१ महिला र एक जना अन्य गरि कूल १० हजार ६१० जना मतदाता रहेका छन् । यहाँ मतदानस्थल १० र मतदान केन्द्र १६ वटा रहेका छन् ।

यस्तै चौंरीदेउराली गाउँपालिकामा पुरुष मतदाताको संख्या ११ हजार ८८८ र महिलाको संख्या १० हजार ३९० गरि २२ हजार २७८ संख्या रहेको छ । यहाँ ११ मतदानस्थलमा २६ वटा केन्द्र रहेका छन् । तेमाल गाउँपालिकामा १२ हजार ११९ पुरुष र १० हजार ७८६ महिला गरि २२ हजार ९०५ मतदाता रहेका छन् । यस पालिकामा १२ मतदानस्थल र २८ केन्द्र रहेका छन् ।

काभ्रेको सदरमुकामसहित रहेको धुलिखेल नगरपालिकामा २७ हजार ९१५ मतदाता रहेका छन् । यहाँ पुरुषको संख्या १३ हजार ९५२ र महिलाको संख्या १३ हजार ९६३ रहेको छ । धुलिखेलमा १८ वटा मतदानस्थलमा ३४ केन्द्र रहेका छन् । नमोबुद्ध नगरपालिकामा २७ हजार ६७५ मतदाता रहेकोमा १४ हजार २८२ पुरुष र १३ हजार ३९३ महिला मतदाता रहेका छन् । यहाँ १६ मतदानस्थलमा ३३ केन्द्र रहेको कार्यालयको तथ्यांक छ ।

पनौतीमा ४० हजार ७१० मतदाता रहेकोमा पुरुषको संख्या २० हजार २१० र महिलाको संख्या २० हजार ५०० रहेको छ । यहाँ २० वटा मतदानस्थलमा ४६ वटा मतदान केन्द्र रहेका छन् । उता पाँचखालमा ३२ हजार ४०७ मतदाता छन् । यहाँ १६ हजार ४५० पुरुष र १५ हजार ९५७ महिला मतदाता रहेका छन् भने यहाँ मतदानस्थलको संख्या १८ र मतदान केन्द्रको संख्या ३८ रहेको छ । बनेपामा ४० हजार ९१० मतदाता रहेका छन् । यहाँ पुरुषको संख्या २० हजार १३५ र महिलाको संख्या २० हजार ७७५ छ । यस पालिकामा कूल २४ वटा मतदानस्थल र ५३ मतदान केन्द्र रहेका छन् । बेथानचोक गाउँपालिकामा १५ हजार ३३५ मतदाता छन् । यहाँ ७ हजार ७१२ पुरुष र ७ हजार ६२३ महिला तथा ९ मतदानस्थलमा १९ केन्द्र रहेको आयोगले जनाएको छ ।

भुम्लुमा १८ हजार १५६ कूल मतदाता छन् । यहाँ ९ हजार ६२३ पुरुष र ८ हजार ५३२ महिलाको संख्या रहेको छ । यहाँ एक जना अन्य मतदाता रहेका छन् । यस पालिकामा १३ मतदानस्थल तथा २४ मतदान केन्द्र रहेका छन् भने मण्डनदेउपुरमा ३० हजार ४९४ मतदाता रहेका छन् । यस पालिकामा पुरुषको संख्या १५ हजार ७८९ र महिलाको संख्या १४ हजार ७०५ तथा मतदानस्थल १६ र ३६ वटा केन्द्र रहेका छन् ।

महाभारतमा जम्मा १२ हजार ९२५ मतदाता रहेका छन् । यहाँ ६ हजार ८७४ पुरुष, ६ हजार ५१ महिलाको संख्या छ । महाभारतमा ८ वटा मतदानस्थल तथा १६ वटा मतदान केन्द्र रहेका छन् । रोशी गाउँपालिकामा २४ हजार २९१ कूल मतदाता रहेकोमा पुरुषको संख्या १२ हजार ८४७ र महिला ११ हजार ४४४ जना रहेका छन् । यहाँ मतदानस्थलको संख्या १४ छ भने ३१ वटा केन्द्र रहेको कार्यालयले जनाएको छ । यसरी जिल्लामा जम्मा १८९ वटा मतदानस्थल तथा ४०० वटा मतदान केन्द्र रहेका छन् ।

काभ्रेमा १४ हजार ३३० नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको पछिल्लो तथ्यांक अनुसार गत असोज १० देखि मंसिर ३० गतेसम्म सो संख्यामा मतदाता थपिएका हुन् । कार्यालयका अनुसार जिल्लामा नियमित तरिकाले दर्ता भएका ४ हजार ८७३, बाहिरी जिल्लाका दर्ता ८२२ र राष्ट्रिय परिचयपत्रमार्फत नयाँ दर्ता ८ हजार ६३५ जना रहेका छन् ।

जिल्लामा अघिल्लो निर्वाचनमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका चार क्षेत्र विभाजन गरिएको थियो । अहिले पनि सोही संख्यामा क्षेत्रहरु छन् । ३ लाख ७५ हजार २ सय २१ जनसंख्या रहेको यस जिल्लामा गत असोज १० गतेसम्म ३ लाख १२ हजार ३ सय १६ मतदाता थिए । जसमा पुरुषको संख्या १ लाख ५९ हजार २०५, महिलाको संख्या १ लाख ५३ हजार ११० र अन्य २ जना रहेको तथ्यांक थियो ।

त्यसयता नयाँ तथ्यांक अनुसार कुल संख्या ३ लाख २६ हजार ६११ पुगेको छ । जसमा पुरुषको संख्या १ लाख ६७ हजार ४९९, महिलाको संख्या १ लाख ५९ हजार ११० र अन्य २ जना रहेका छन् । मृत्यु भएका ७३३ जनाको नाम हटाइएको छ भने ६१७ जनाको दोहोरो नाम हटाइएको छ । नागरिकता त्यागेका २ र नागरिकता रद्द भएका एक जनाको पनि नामावलीबाट नाम हटाइएको छ ।

पुस १२ गते निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावली अनुसार काभ्रेपलाञ्चोक जिल्लामा आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताहरुले २१ गते हुने निर्वाचनमा भाग लिन सक्नेछन् । जिल्लामा ६ वटा नगरपालिका, ७ वटा गाउँपालिका तथा १ सय ३५ वडा रहेका छन् ।
माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । शिक्षा तालिम केन्द्र धुलिखेलमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय स्थापना भएको छ भने पनौती नगरपालिका कार्यालयमा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय स्थापना गरिएको छ । निर्वाचनका लागि जिल्लामा १ हजार १ सय १५ नेपाल प्रहरी, ३ सय ५० सशस्त्र प्रहरी र २ हजार २ सय ६९ निर्वाचन प्रहरी प्रत्यक्ष परिचालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *