पनौती । पुस्तान्तरण र वैचारिक र सांगठनिक सुधारमार्फत पार्टी र मुलुक रूपान्तरणको मुद्दा बोकेका नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सचिव गुणराज मुक्तान पार्टीको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ उम्मेद्वार छन् । युवाले नै युवाको विचार, भावना, समस्या, आवश्यकता र सवाल बोकेर नेपाली कांग्रेस निर्वाचनमा होमिएको भन्दै उनले कांग्रेसका शिक्षित, युवा उम्मेद्वारलाई मतदान गरिदिन अनुरोध गरे ।
कांग्रेसमा पुस्तान्तरण र रुपान्तरणको मुद्दा स्थापित गर्न सफल भएको भन्दै उनले आम युवा, महिला, आदिवासी जनजाती, किसान, मजदुर क्षेत्रका सबाल स्थापित गर्न बदलिएको, सुधारिएको, सशक्त र सुदृढ कांग्रेसले देशको अवस्था बदल्नुका साथै सबल र सम्मुनत बनाउने बताए ।
शालिन र बौद्धिक नेता
नेपाली कांग्रेसका तर्फबाट काभ्रे प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नं १ का उम्मेद्वार गुणराज मुक्तान शालिन र बौद्धिक नेता मानिन्छन् । रोशी गाउँपालिका वडा नम्बर १२ स्थित शिखरपुरमा पिता जितबहादुर मुक्तान र आमा हिरामाया काल्तानको सन्तानको रुपमा २०४२ साल माघ ११ गते जन्मिएका मुक्तान नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा सक्रिय छन् ।
२०५८ सालमा कोटेश्वर बहुमुखी क्याम्पसबाट नेबिसंघको सदस्य भई राजनीतिक यात्रा आरम्भ गरेका मुक्तान २०६१ मा नेविसंघ काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ को सभापति भएर २ कार्यकाल नेतृत्व गरेका थिए । साबिक भीमखोरी गाउँ इकाईको सभापति भएर काम गरेका उनले १२ औं महाधिवेशन र १३ औं महाधिवेशनमा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ को सचिव भइ २ कार्यकाल पूरा गरेका छन् । मुक्तान १४ औं महाधिवेशनमा नेपाली कांग्रेस काभ्रेको सचिवका साथै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
स्थानीय विकास, शासकीय पद्दतिमा तल्लो तहदेखि राष्ट्रियस्तरसम्म योजना र नीतिमा विज्ञता प्राप्त गरेका उनी जनमासमा भिजेका र राष्ट्रिय राजनीति बुझेका नेताका रुपमा चिनिन्छन् । बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य भएर काम गरेका उनले सरकार सञ्चालन, योजना निर्माणका साथै नीति निर्माणमा योगदान गरेका छन् ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको अध्यक्षसमेत रहेका उनी उच्चस्तरीय शिक्षा आयोगको सदस्यसमेत भइ सामाजिक एवं शैक्षिक क्षेत्रको नीति, निर्माण तहमा काम गरेका व्यक्ति हुन् । सामाजिक क्षेत्रमा क्रियाशील मुक्तान नाङ्साल एसोसिएसनको अध्यक्ष भएर खानीखोला, महाभारत, रोशी, नमोबुद्ध क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई तथा विपद्पछिको पुनर्निर्माणमा काम गरेका छन् ।
शैक्षिक योजना तथा व्यस्थापन विषयमा स्नातकोत्तर, विकास अध्ययनमा एमफिल र विद्यालय शासन पद्दतिमा विधावारिधि गर्दै गरेका युवा नेता मुक्तान जिल्लामा शैक्षिक योग्यता पुगेका नेताका रुपमा परिचित छन् ।
