बनेपा । बनेपा नगरपालिका वडा नं. १० जनागालमा रहेको नाइटिङ्गेल एकेडेमीले ‘नाइटिङ्गेल फुटसल’ सञ्चालनमा ल्याएको छ । फुटसलको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, पूर्वअध्यक्ष मोतिराम तिमल्सिना तथा बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले संयुक्तरूपमा फुटसलको उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष रत्नकुश रञ्जितकारले गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय सहभागी गराउने उद्देश्यले फूटसल स्थापना गरिएको बताउनुभयो। उहाँले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ यो पहल गरिएको बताउनुभयो ।
उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोदकुमार न्यौपानेले नाइटिङ्गेल फुटसलले स्थानीयस्तरमै प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो। त्यसैगरी बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले विद्यालयहरूले पठन–पाठनसँगै खेलकुद पूर्वाधारमा पनि समान ध्यान दिनुपर्ने बताउनुभयो ।
विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले खेलकुदलाई विद्यालयको शैक्षिक यात्राको अभिन्न अङ्गका रूपमा अघि बढाइएको उल्लेख गर्दै फुटसलले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता तथा टोली भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले स्वस्थ प्रतिस्पर्धा, सकारात्मक सोच र जीवन उपयोगी सीप विकासमा विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।
फुटसल उद्घाटनको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक र बनेपा प्याब्सनबीच मैत्रीपूर्ण खेलसमेत आयोजना गरिएको थियो ।
