ज्ञानमणि नेपाल कालोटोपी
नेपाल माघ २ गते २७ औं राष्ट्रिय भूकम्प सूरक्षा दिवस मनाइएको छ । नेपाल भूकम्पिय जोखिममा सबैभन्दा अगाडि रहेको ०७२ सालमा गएको भूकम्पले देखाइसकेको छ । विगतमा गएका भूकम्पका त्रासदीहरुले अब आउन सक्ने दुर्घटनालाई पनि संकेत गरिरहेको भएपनि यसतर्फ सतर्कता नअपनाइएकाले बेलाबेलामा नेपालले भूकम्पबाट ठूलै क्षति भोग्नु परेको आलो घाउ हामीसँग ताजै छ । अहिले नेपालका कुनै पनि जिल्ला सुरक्षित छैनन् । विशेषगरि काठमाडौं उपत्यका त झन सबैभन्दा धेरै क्षति हुन सक्ने क्षेत्रको रुपमा रहेको छ । अर्थात अर्को शब्दमा भन्नु पर्दा समग्र नेपाल उच्च भूकम्पिय जोखिममा छ ।
२०७९ कात्तिक २३ गते डोटीमा ६.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो । जसमा ६ जनाले ज्यान गुमाए भने थुप्रै घाइते भए । सयौं घर भत्किए । भूकम्पपीडित अहिले पनि त्रिपाल र टहरामै बसेका छन् । यो एउटा उदाहरण मात्र हो । नेपालको पश्चिम भेगमा लगातार साना भूकम्पहरु गइरहेका छन् । यसको मतलब पूर्वमा पनि भूकम्पहरु नगएको भने होइन । यसले के देखाउँछ भने भूकम्प कहाँ र कतिबेला जान्छ भनेर कसैलाई पनि थाहा हुँदैन ।
हुन त नेपालमा दैनिक ३ वटासम्म साना भूकम्पहरु गइरहने गरेको एक तथ्याङ्कले देखाएको छ । यी भूकम्पहरु हामीले खासै पत्तो पाउँदैनौं । जुन भूकम्पको पत्ता पाउँछौं त्यसले ठूलै विनास बोकेर आउने गरेको हामीले देखेभोगेकै विषय भएका छन् । विश्वमा पटक–पटक ठूला भूकम्पहरु गएको र यसले धेरै नै धनजनको क्षति भएका विषयहरु हामीले सुन्दै आएका छौं । यस्तै नेपालमा पनि मानवीय क्षति हुने गरि धेरैपटक त्रासदीपूर्ण भूकम्पहरु गएका छन् ।
अहिलेसम्म फेला परेको रेकर्ड अनुशार नेपालमा वि.सं. १३१० मा ठूलो र विनासकारी भूकम्प गएको देखिन्छ । यसमा के कति क्षति भयो त्यसको यथार्थ तथ्याङ्क नभए पनि यसले ठूलै नोक्सान पु¥याएको हुनसक्ने इतिहासविदहरु बताउँछन् । यसबीचमा साना ठूला धेरै भूकम्पहरु गएका भएपनि वि.सं. १८९० मा पनि अर्को ठूलो मानवीय र भौतिक क्षति हुने गरि भूकम्प गएको देखिएको छ । यसको ठ्याक्कै १ सय वर्षपछि वि.सं. १९९० सालमा गएको भूकम्पका प्रत्यक्षदर्शीहरु अहिले पनि नेपालमा छन् । यस भूकम्पले धेरै नै क्षति भएको उनीहरुको भनाइ छ । इतिहासले बताए अनुशार माघ २ गते दिउँसो २ बजे गएको यो भूकम्पको मापन ८.४ रेक्टर स्केल थियो । सो भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपालको संखुवासभाको चैनपुर रहेको थियो । यसमा ३ हजार ८५० पुरुष र ४ हजार ६६९ महिला गरि ८ हजार ५१९ मानिसको मृत्यु भएको थियो । यसमध्ये काठमाडौं उपत्यकामा मात्र ४ हजार २९६ जनाको मृत्यु भएको थियो भने २ लाख ७ हजार ७४० घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका थिए ।
यो भूकम्पको यथार्थ उतार्ने क्रममा श्री ब्रम्हशमसेर जबराद्वारा लिखित ९० सालको भूकम्प नामक पुस्तकमा यी कुरा उल्लेख गरिएको छ–‘होस हवास हराएको २ मिनेटपछि आँखा खोलेर हेर्दा चारैतिर प्रलयको दृष्य, प्रलयको कोकोहलो स्वरले चिच्याउन र कराउन लागेको देखियो, सुनियो । मानिसको त के कुरो मानिसका शरणमा परेका चराचुरुङ्गीहरु पनि च्याँ–च्याँ र चुँ–चुँ गरि आकाशमा कराउन लागेका थिए । मुसा जस्तो छरितो जन्तुले पनि भाग्ने मौका पाएन, जहाँको त्यहिं थिचिएर मर्नु प¥यो । छोराको सबै शरिर किचिरहेछ, मुख पक्क–पक्क बाएको र्इंटाको अन्तरबाट अलि–अलि देखिन्छ । आ…मा भनेको मलिन आवाज पनि अलि–अलि सुनिन्छ । ईंटा–काठ पन्छाएर छोरो झिक्ने मद्दत पुग्दैन । यस्तो अवस्थामा त्यस अभागि आमाको तस्विर खिच्नुहोस् । जहानमा ११ जना थिए, सबै किचिएर मरे । एउटा ५ वर्षको बालक बाँच्यो । यो टुहुरोको सम्झना गर्नुहोस् । विवाह गरेको वर्ष दिन भएको छैन, १५ वर्ष कि बाहुनी विधवा भई । यसले छाती पिटि–पिटि रोएको करुण क्रन्दनको विचार गर्नुहोस् । जहानमा कसैको टाउको फुटेको छ, कसैको हात भाँचिएको छ । कुनै बेपत्ता छन् । कसैलाई खोस्रेर झिक्दै छन् , कसैलाई पोल्न लगिसके । घ्याम्पो फुट्यो , अन्नको गेडा छैन । घरमा मुर्दा लडिरहेछ, कात्रो किन्न जाने पसल छैन । दाउरा किन्न पैसा छैन । घर भत्किएका काठले मुर्दा पोलिए । बाबु म¥यो, छोराले किरीया गर्न कपाल खौरनका लागि छुरा पाएन । पुरेत बाजेसँग किरीया गराउने पुस्तक छैन । रात प¥यो झरीको डर । ओत लाग्ने कुनै ठाउँ छैन । मुर्दाको सद्गत गर्न घाटमा ठाउँ छैन । नसक्नेले मरेका लासहरु त्यसै फाल्नु पर्ने अवस्था छ । गाईवस्तुको त कुरै छोडौं ।! ’
वि.सं. १९९० को भूकम्पको यो त्रासदीपछि यसको ५५ वर्षपछि अर्को भूकम्पले नेपालमा तहल्का मच्चाएको इतिहास बताउँछ । त्यो दिन २०४५ भदौ ५ गते हो । पूर्वी नेपालको उदयपुर केन्द्रबिन्दु रहेको यस भूकम्पको मापन ६.६ रेक्टर स्केल रहेको थियो । बिहानीपख गएको यो भूकम्पले ४० सेकेण्ड पुरै नेपाल हल्लाएको थियो । यसमा ७२१ जनाले ज्यान गुमाएका थिए । ६५ हजार घरहरु ध्वस्त भएका थिए । तत्कालिन श्री ५ को सरकारले भूकम्पले भत्काएका घरहरु पुनर्निर्माणका लागि जनतालाई आर्थिक सहयोग गरेको थियो । यसपछि धेरैपटक अन्य भूकम्पहरु गएका भए पनि पछिल्लो पटक ०६८ असोज १ गते गएको अर्को भूकम्पले पनि नेपालमा मानवीय र भौतिक क्षति पु¥याएको हामी सबैमा विदितै छ ।
यो त केही पुराना भूकम्पको इतिहास भयो । वर्तमानतिर हेर्ने हो भने ०७२ बैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको विनासकारी भूकम्प हामी सबैले भोग्यौं । गोर्खा केन्द्रबिन्दु रहेको यस भूकम्पले ८ हजार मानिसको ज्यान गयो । २० हजारभन्दा वढी घाइते भए । ५ सयभन्दा वढी अहिले पनि हराइरहेका छन् । लाखौंको संख्यामा पशुपंक्षी मरे । ३ सय ५० वटा ऐतिहासिक संरचना पूरै ध्वस्त भए । ४ लाख घरहरु पूर्णरुपमा भत्किए भने अरु २ लाख घर पनि बस्न नमिल्ने अवस्थामा छन् । निरन्तर १५ दिनसम्म भूकम्पले त्रास दिइरह्यो र अहिले पनि दिइनैरहेको छ । यसबीचमा साना–ठूला १ लाख वटा भूकम्पहरु गएको हामीले प्रत्यक्ष देख्यौं र भोग्यौं । बिदाको दिन र दिउँसोको समय भएकोले मानवीय क्षति भूकम्पको मापन अनुशार कम भएको र यदि यो रातिको समयमा गएको भए लाखौं मानिसहरु मर्न सक्ने विज्ञहरुको अनुमान छ । यसले ३० वटा जिल्लालाई प्रत्यक्ष प्रभावित बनायो । ११ जिल्लाहरु त पुरै अस्त व्यस्त छन् । सबैभन्दा वढी सिन्धुपाल्चोकमा मानवीय क्षति भयो । अहिलेसम्म भेटिएको मध्ये यो जिल्लामा मात्र मर्नेको संख्या ३ हजार ५७ छ । ६६ हजार घर मध्ये ६० हजार पुरै भत्किए । अन्य जिल्लाहरुमा पनि अर्बौंको क्षति भयो । त्रास अझै कायम छ । ठ्याक्कै १९९० सालको अवस्था भयो । यसले भौतिक, मानवीय र आर्थिक क्षति कति गरायो अझै मापन गर्न सकिएको छैन ।
हुन त वाढी पहिरो, भूकम्प लगायतका प्राकृतिक विपतीहरु बाजा बजाएर आउँदैनन् । तर सतर्कता अपनाउने हो भने यिनीहरुले गर्ने क्षतिमा भने कमी ल्याउन सकिन्छ । पछिल्ला दिनहरुमा नेपालमा निर्माण हुँदै आएका घरहरु भूकम्प प्रतिरोधात्मक छैनन् । प्रतिश्पर्धात्मकरुपमा बनाइएका यी घरहरुले कुनै पनि बेला मानिसहरुलाई मृत्युको शिकार बनाउन सक्ने विज्ञहरुको भनाइ छ । पुराना घरहरु र नयाँ बनिरहेका कमजोर संरचनाले पनि भूकम्पको क्षति बढाएको निश्चित छ । यतातिर नसोच्ने हो भने वाढीपहिरोले जस्तै भूकम्पले पनि अझै ठूलो विनास निम्त्याउने छ, निम्त्याइरहेको पनि छ ।
अब पनि ०७२ को जस्तै ठूलो भूकम्प दोहोरियो भने सबैभन्दा वढी राजधानीमा मानवीय र भौतिक क्षति हुनसक्ने अध्ययनले देखाएको छ । यसो भयो भने करिव १ लाखभन्दा वढी मानिसहरु मर्न सक्छन् । अर्बौं रुपैंयाँका घर र भवनहरु अझै भत्कन सक्नेछन् । यी र यस्ता भवितव्यहरुबाट बच्न मानिसले अहिलेदेखि नै सतर्कता अपनाउन जरुरी रहेको छ । यसतर्फ सोच्न अब ढिला गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *