बनेपा । नाइटिङ्गेल एकेडेमीमा बिहीबारदेखि परियोजना आधारित सिकाइ (Project–Based Learning PBL) प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीको पहिलो दिन बिहीबार कक्षा ८ र ९ का विद्यार्थीहरूले तयार पारेका विविध शैक्षिक परियोजनाहरू प्रस्तुत गरेका छन् । यस अवसरमा विद्यार्थीका अभिभावकहरूलाई पनि आमन्त्रण गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक उमा बस्नेतले पीबीएल पद्धतिले विद्यार्थीमा सृजनशीलता, समालोचनात्मक सोच, सहकार्य र आत्मविश्वास विकास गर्ने बताइन् । “विद्यार्थीहरूले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने यो उत्कृष्ट माध्यम हो,” उनले भनिन् ।
प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान, वातावरण संरक्षण, प्रविधि, सामाजिक समस्या, नवप्रवर्तन र जीवनोपयोगी सीपसम्बन्धी परियोजनाहरू प्रस्तुत गरेका छन्। विद्यार्थीहरूले आफ्ना परियोजनाबारे अभिभावक तथा आगन्तुकहरूसँग प्रत्यक्ष संवाद गर्दै व्याख्या गरेका थिए ।
कार्यक्रम अवलोकन गरेका अभिभावकहरूले आफ्ना छोराछोरीको प्रस्तुति, प्रस्तुतीकरण शैली र आत्मविश्वास देखेर खुसी व्यक्त गरे । शिक्षकहरूले पनि विद्यार्थीहरूको मिहेनत, अनुसन्धान क्षमता र टोलीकार्यको प्रशंसा गरेका थिए ।
विद्यालय प्रशासनका अनुसार पीबीएल प्रदर्शनी आजदेखि कक्षा–कक्षागतरूपमा केही दिनसम्म निरन्तर सञ्चालन हुनेछ । प्रत्येक दिन फरक–फरक कक्षाका विद्यार्थीहरूले आफ्ना परियोजनाहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यस प्रकारको शैक्षिक गतिविधिबाट विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र समस्या समाधान गर्ने सीप विकास हुने विश्वास विद्यालयले लिएको छ ।
