बनेपा । काभ्रे जिल्लाव्यापी टेबल टेनिस प्रतियोगिता आइतबार बनेपामा सम्पन्न भएको छ । माघ २३ गतेदेखि शुरु भएको प्रतियोगिता २५ गते आइतबार सम्पन्न भएको हो । बनेपा नगर टेबल टेनिस संघको आयोजना र बनेपा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा ७० जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।

जसमा पुरुष सिंगल खुल्लामा धर्मराज थापा प्रथम, शान्तिरत्न शाक्य दोस्रो र कुश श्रेष्ठ तथा शरद कर्माचार्य तेस्रो भए । यसैगरि पुरुष सिंगल चालिस वर्षमाथिको विधामा धर्मराज थापा प्रथम, बालकृष्ण सेवाचार्य दोस्रो र कुश श्रेष्ठ तथा रविन खत्री तेस्रो भए ।

यस्तै १६ वर्ष मुनीको विधामा मिराज तामाङ प्रथम, रितेस तामाङ दोस्रो र सुशांक श्रेष्ठ तथा कुशल गिरी तेस्रो भए भने खुल्ला महिला सिंगलमा सुजाता पौडेल पहिलो, स्वस्ती प्रधान दोस्रो, स्मृतिमाया तामाङ तथा स्मृति हुमागाईं तेस्रो भएका छन् । ५० वर्ष उमेर माथिको विधामा मधिकर मकै पहिलो, शान्तिरत्न शाक्य दोस्रो तथा सुरेश शाक्य र भक्तराम श्रेष्ठ तेस्रो भएका आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले पुरस्कृत खेलाडीलाई नगद पुरस्कारका साथै प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले टेबल टेनिस खेलको भविष्य उज्वल रहेको बताउँदै यसका लागि वागमती प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले खेलमा हारजित सामान्य भएकाले हार्नेले निराश नभइ अर्को खेलको तयारीमा लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले आगामी वर्ष बनेपाबाट टेबल टेनिसका राष्ट्रिय खेलाडी उत्पादन गर्ने गरि नगरपालिका लागिरहेको बताउनुभयो । विशेष अतिथी काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केजी बैदारले खेल स्वास्थ्यका लागि अति नै महत्व रहेकाले खेलबाटै देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसम्म चिनाउन सकिने बताउनुभयो । समापन कार्यक्रम बनेपा टेबल टेनिस संघका अध्यक्ष बचन नापितको समापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *