अहिले पनि किसानलाई मुख्य समस्या मलकै रहेको छ । तर यतिबेला कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेलको गोदाममा युरिया मलको स्टक थ्रुप्रिएको छ । सम्बन्धित पालिकाहरुका लागि छुट्याइएको कोटाको मल पनि ती पालिका अन्तर्गतका सहकारी संस्थाहरु लिन आएका छैनन् । त्यसैले किसानले मल नपाएको भने पनि गोदाममा मल थुप्रिएको हो ।
त्यहाँ देखिएका मलका हजारौं बोराले ५ केजी मलका लागि दिनभरि लाइन बसिरहेका किसानलाई गिज्याइरहेको भान हुन्छ । हुन पनि यहाँ यतिबेला टनका टन रासायनिक मल छ । तर यी मल सिधै किसानका खेतबारीमा भने पुग्दैनन् । किसानले यी मलका बोरा छुनका लागि निकै चरण पार गर्नुपर्ने अवस्था छ ।
सरकारले मल वितरणमा कोटा प्रणाली लागू गरेको छ । जसले गर्दा यी मल किसानले सहकारी संस्थामार्फत मात्र पाउने गरेका छन् । कृषि मन्त्रालयले सबै प्रदेशका लागि मलको कोटा तोक्छ । प्रदेशमार्फत जिल्ला र पालिकाका लागि छुट्टै कोटा तोकिन्छ । प्रदेशबाट आएको सूची अनुसार मात्रै कृषि सामाग्री कम्पनीले मल वितरण गर्नुपर्ने बाध्यता रहेको धुलिखेलस्थित कार्यालयका प्रमुख आलोककुमार शर्मा बताउनुहुन्छ ।
तर यो पटक ती सहकारीहरुले पनि मल लगेका छैनन् । त्यसैले गोदाममै थन्किएका हुन् । विगतमा देशभर किसानको माग १३ लाख मेट्रिक टन तर आयात मुस्किलले पाँच लाख मेट्रिक टन मात्र हुने गरेका कारण माग र आपूर्तिबीच असन्तुलन हुँदा मल अभाव भएको थियो । तर अहिले विभिन्न पालिकाहरुलाई गएको कोटा अनुसार मल लैजान बाँकी छ । धुलिखेलस्थित कृषि सामाग्री कम्पनी लिमिटेडले काभ्रे र सिन्धुपाल्चोकका लागि मल वितरण गर्दै आइरहेको छ ।
कार्यालयका प्रमुख शर्माका अनुसार अहिले धुलिखेलको कृषि सामाग्री कम्पनीमा १ हजार ७६०.२५ मेट्रिक टन यूरिया र २९२.८० मेट्रिक टन डिएपी, १४.६० मेट्रिक टन पोटास र १६.१० मेट्रिक टन कृषि चुनको स्टक बाँकी छ । सहकारीहरुले समयमै आफ्नो कोटा अनुसारको मल लैजाने हो भने किसानले पनि सहज तरिकाले पाउने उहाँ बताउनुहुन्छ ।
सरकारले यसवर्ष कृषि क्षेत्रका लागि ५७ अर्ब बजेट विनियोजन गरेको छ, जसमा २८ अर्ब त मल खरिदकै लागि छुट्याएको छ । तैपनि किसान भने मलकै समस्या बेहोर्न बाध्य छन् । यस्तो अवस्थामा समस्या कहाँबाट शुरु भएको समाधान पनि त्यहीँबाट थाल्नुपर्ने देखिन्छ । मलको समस्या समाधानका लागि सबैले आआफ्नो तर्फबाट काम गर्नै पर्नेछ । तब मात्र किसानले पर्याप्त मल पाउने निश्चित छ ।

