चुनाव नजिकिँदै गर्दा निर्वाचन आचार संहिताको उल्लंघन गर्नेहरुको संख्या पनि बढीरहेको छ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा सहभागी कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिन्हको प्रचारप्रसार गर्दा भौतिक स्वरुपको निर्वाचन चिन्ह साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको भन्ने सूचना÷गुनासाहरु प्राप्त भएका छन् ।

राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्ड बमोजिम आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्न सक्ने तर सोको सट्टामा कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेको भौतिक स्वरुपका निर्वाचन चिन्ह लिई निर्वाचन प्रचारप्रसार गर्दा सुरक्षा जोखिम बढेको भन्ने उजुरी तथा गुनासोहरु समेत निर्वाचन आयोगमा प्राप्त भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१(१) मा निर्वाचनका लागि दल र उम्मेदवारलाई वितरण गर्ने निर्वाचन चिन्ह आयोगले निर्धारण गर्ने व्यवस्था रहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा ४३ को उपदफा (१) मा ‘निर्वाचनका लागि दललाई प्रदान गरिने निर्वाचन चिन्ह अनुसूची–३० बमोजिम र स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिन्ह अनुसूची–३१ बमोजिम हुनेछ ।

उल्लेखित ऐन र निर्देशिकाले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने उम्मेदवारलाई प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–३० र अनुसूची–३१ मा उल्लेखित निर्वाचन चिन्ह प्रदान गर्ने र सो बमोजिम निर्वाचन चिन्ह पाएका दल वा उम्मेदवारले प्रयोग गर्ने दलको झण्डा र चुनाव चिन्हको मापदण्ड निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा व्यवस्था गरेको छ ।

उल्लेखित सन्दर्भमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरुपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेका निर्वाचन चिन्ह प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा तोकिए बमोजिमको मापदण्ड बमोजिम दलको झण्डा र चुनाव चिन्हको माध्यमबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ ।

यति मात्र होइन, विभिन्न दल तथा उम्मेदवारले एक अर्कामा गाली गर्दै सामाजिक संजालमा पोष्ट गरिरहेका छन् । यस्तो खालको राजनीतिक संस्कारले समाज रुपान्तरण सम्भव छ त ? हामीले असल संस्कारसहितको राजनीतिको स्वरुप विकास गर्नु जरुरी छ । यसतर्फ सबैले ध्यान दिउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *