काभ्रे । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सम्पदा संरक्षणमा देशका तीन वटै तहका सरकारले सहकार्य गरी पनौतीको सम्पदा संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।
शनिबार पनौतीको साँस्कृतिक, पुरातात्विक एवं पर्यटकीय महत्वको बारेमा सूर्यप्रसाद लाकोजूद्वारा लेखिएको पुस्तक विमोचन एवं प्रजातन्त्र सेनानी सप्तलाल श्रीराम स्मृति प्रतिष्ठानको साधारण सभा कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संस्कृति, सम्पदा संरक्षण गर्नको लागि संघ, प्रदेश र स्थानीय तह गरी ३ तहकै सरकारको सहकार्य र समन्वयको आवश्यक रहेको बताउनुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृतिलाई जोगाउन र संरक्षण गर्न पनि सरसफाईको आवश्यक भएको बताए । पनौतीको सम्पदा संरक्षण गर्न पनि ३ तहकै सरकारको सक्रियता हुनुपर्छ, कुनै एउटा निकाय, एउटा संस्थाले गर्छु भनेर सम्भव नहुने उल्लेख गर्नुभयो ।
असोजको दोस्रो साता आएको बाढी पहिरोले पुरातात्विक महत्व बोकको पनौतीका संरक्षित सम्पदाहरु त्रिवेणीघाटमा रहेका मठ–मन्दिर, पाटीपौवा, ब्रह्मायणी मन्दिर लगायतका क्षेत्रहरुमा पनि क्षति पुगेको र यसको पुनर्निर्माणका लागि पनि ३ तहकै सरकारको सहकार्य र समन्वय रहेको उल्लेख गर्नुभएको थियो ।
सप्तलाल श्रीराम स्मृति प्रतिष्ठानले महेश कुमार कर्माचार्य, प्रेमबहादुर महाजु र इन्द्रकुमारी खड्कालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सोही अवसरमा मन्त्री पाण्डेले इतिहास बोकेका र प्रजातन्त्रमा योगदान गरेका व्यक्तित्वहरुलाई प्रतिष्ठानले सम्मान गरेकोमा उदाहरणीय कार्य भएको बताउनुभयो । सप्तलाल श्रीरामले देखाउनुभएको बाटोमा हामीले कहिले पनि भुल्न नहुने तर्क राख्दै यस्ता इतिहास पुरुषहरुलाई जीवन्त राख्न प्रतिष्ठानले गरेको कार्य सह्रानीय रहेको चर्चा गर्नुभयो ।
सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य, शिवप्रसाद हुमागाईं, पूर्व मन्त्री एवं नेपाली कांग्रेसका सभापति तीर्थ बहादुर लामा, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, पुस्तकका लेखक सूर्यप्रसाद लाकोजू लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष गोवद्र्धन कर्माचार्यले राख्नुभएको थियो भने सभाको सभापतित्व अध्यक्ष विजयराम कर्माचार्यले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव शम्भुलाल श्रेष्ठले गर्नुभएको थियो ।
