काठमाडौँ । स्थानीय तहको बागडोर सम्हालिरहेका र कार्यकाल बाँकी छँदै नीति निर्माणको माथिल्लो तह -प्रतिनिधिसभा) मा पुग्ने आकांक्षा राखेका अधिकांश जनप्रतिनिधिहरूलाई यस पटकको निर्वाचनले निराश तुल्याएको छ । स्थानीय सरकारको जिम्मेवारीबीचमै छाडेर माननीय बन्ने दाउमा रहेका १४ बहालवाला जनप्रतिनिधिमध्ये ११ जना चुनावी मैदानमा असफल भएका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभरका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए । तर, तीमध्ये काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह -बालेन), धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख हर्कराज राई -साम्पाङ) र वीरगञ्ज महानगरपालिकाका वडाध्यक्ष सुशील साह कानु मात्र विजयी हुन सफल भए ।

स्थानीय तहमा स्वतन्त्ररूपमा निर्वाचित भएर चर्चामा रहेका बालेन शाह र हर्क साम्पाङले आफ्नो साखलाई केन्द्रमा पनि जोगाउन सफल भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) बाट झापा निर्वाचन क्षेत्र नं. ५ मा उम्मेदवारी दिएका बालेन शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।

त्यस्तै, आफ्नै श्रम संस्कृति पार्टी बाट सुनसरी क्षेत्र नं. १ मा प्रतिस्पर्धा गरेका हर्क साम्पाङले पनि नतिजा आफ्नो पक्षमा पार्दै केन्द्रीय राजनीतिमा फड्को मारेका छन् । उनले रास्वपाका उम्मेदवार सरिन तामाङ र आफ्नै वडाका वडाध्यक्ष समेत रहेका नेकपाका उम्मेदवार मनोज भट्टराईलाई पछि पारेका हुन् ।

यस्तै, वीरगञ्ज महानगरपालिकाको वडाध्यक्ष पद छाडेर रास्वपाको तर्फबाट पर्सा क्षेत्र नं. २ मा उम्मेदवारी दिएका सुशील साह कानुले पनि जित निकाल्दै वडाबाट सिधै संसद् भवन छिर्ने अवसर पाएका छन् । उनले नेपाली कांग्रेसका पूर्वमन्त्री अजय चौरसियालाई भारी मतले हराएका थिए ।

पद पनि गुमाउने र विजयी पनि नहुने ११ उम्मेदवार
विजयी भएका तीन जनाबाहेक अन्य ११ जना जनप्रतिनिधिको संसदीय यात्रामा भने पूर्णविराम लागेको छ । विशेषगरी भरतपुर महानगरपालिकाको प्रमुख पद छाडेर चितवन निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लडेकी रेणु दाहाल पराजित भएकी छन् । माओवादी केन्द्रबाट नेकपामा रूपान्तरण भएर चुनावी मैदानमा उत्रिए पनि उनलाई रास्वपाकी सोबिता गौतमले पराजित गरिन् ।

धुलिखेलका पूर्वमेयर अशोक व्याञ्जु श्रेष्ठलाई काभ्रे–२ मा रास्वपाका बदन भण्डारीले हराए । श्रेष्ठ उक्त क्षेत्रमा तेस्रो स्थानमा सीमित भए । एमालेबाट उम्मेदवारी दिएका रंगेलीका पूर्वमेयर दिलिप वगडियालाई मोरङ–२ मा रास्वपाका कृष्णकुमार कार्कीले पराजित गरे । नेकपाका उम्मेदवार रहेका सूर्योदयका पूर्वमेयर रणबहादुर राई इलाम–१ मा पाँचौँ स्थानमा खुम्चिए । उनको क्षेत्रमा नेपाली कांग्रेसका निश्कल राई विजयी भए ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट नेकपामा प्रवेश गरेका टीकापुरका पूर्वमेयर रामलाल डगौरा थारू कैलाली–१ को चुनावी प्रतिस्पर्धामा पराजित भएका छन् । सो क्षेत्रमा रास्वपाकी कोमल ज्ञवाली विजयी हुँदा थारू तेस्रो स्थानमा रहे ।

गाउँपालिका अध्यक्ष पद छाडेर प्रतिनिधिसभा ताकेका सोलुखुम्बुमा नेकपाका असिम राई नेपाली कांग्रेसका प्रकाशसिंह कार्कीसँग पराजित भए । असिम थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्ष त्यागेर उम्मेदवार बनेका थिए । उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पद छोडेर उदयपुर–२ मा भिडेका नेकपा माओवादी केन्द्रका मेजरकुमार राईको त जमानत नै जफत भयो ।

यस्तै नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राई बाँके–२ मा छैटौँ भए भने ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा एमालेबाट उम्मेदवार बने पनि चौथो स्थानमा सीमित भइन् । वीरगञ्जका वडाध्यक्ष रामकिशोर सिंह र धरानका वडाध्यक्ष मनोज भट्टराई पनि पराजित भएका छन् ।

संसदीय दौडमा सहभागी १४ जनाको टोलीमा रहेका दुई महिला जनप्रतिनिधि रेणु दाहाल र अस्मिता थापा दुवै पराजित भए । स्थानीय सरकार सञ्चालनको अनुभवलाई राष्ट्रिय नीति निर्माणमा लैजाने तर्क गर्दै पद त्यागेका ११ जना नेताहरू अब न स्थानीय सरकारमा रहे, न त संसदमै छिर्न सके । उनीहरूका लागि यो निर्वाचन आकाशको फल आँखा तरी मर भनेझैँ साबित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *