श्याम शर्मा एल.सि
जनताले व्यक्त गरेको मत लोकतन्त्रको अन्तिम र सर्वमान्य आधार हो । लोकतान्त्रिक व्यवस्थामा शक्ति कुनै व्यक्ति, दल वा संस्थामा होइन, अन्ततः जनतामै निहित हुन्छ ।

त्यसैले निर्वाचनमार्फत अभिव्यक्त भएको जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्नु प्रत्येक राजनीतिक शक्ति, नेता तथा कार्यकर्ताको नैतिक र राजनीतिक दायित्व हो । हालैको निर्वाचन परिणामले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आफ्नो विश्वास र अपेक्षा व्यक्त गरेका छन् । यो विश्वास केवल विजयको प्रतीक मात्र होइन, जिम्मेवारी र उत्तरदायित्वको ठूलो दायित्व पनि हो । जनमतको कदर गर्दै देश र जनताको हितमा परिणाममुखी कार्य गर्नु अब उक्त पार्टीको प्रमुख कर्तव्य हुनेछ ।

नेपाल अहिले विविध जटिल चुनौतीहरूबाट गुज्रिरहेको छ । आर्थिक मन्दीको दबाब, बढ्दो बेरोजगारी, विकास निर्माणको सुस्त गति, तथा राज्यप्रति नागरिकको बढ्दो निराशा । यस्तो परिस्थितिमा जनताले नयाँ विकल्पप्रति आशा राख्नु र परिवर्तनको अपेक्षासहित समर्थन गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया हो ।

लोकतन्त्रको सुन्दर पक्ष नै यही हो कि जनमत स्थिर र स्थायी हुँदैन, यो समय, कार्यक्षमता, उत्तरदायित्व र जनताप्रतिको व्यवहारका आधारमा निरन्तर रूपान्तरण भइरहन्छ। हिजोको जनमत आज फेरिन सक्छ, र आज प्राप्त भएको जनसमर्थन पनि भोलि कायम रहन्छ कि रहँदैन भन्ने कुरा शासन, कार्यशैली र परिणाममा निर्भर हुन्छ ।

निर्वाचनमा जीत र हार दुवै लोकतान्त्रिक प्रक्रियाका अविभाज्य अङ्ग हुन् । जीतले जिम्मेवारीको बोध गराउँछ भने हारले आत्मसमीक्षा र सुधारको अवसर प्रदान गर्छ । यही आत्मसमीक्षाबाट लोकतान्त्रिक संस्थाहरू परिपक्व बन्छन् र राजनीतिक संस्कार बलियो हुँदै जान्छ । नेपाली कांग्रेस जस्तो ऐतिहासिक परम्परा बोकेको तथा लोकतान्त्रिक मूल्य र आदर्शमा आधारित पार्टीले पनि यस परिणामलाई गम्भीर आत्ममूल्यांकनको अवसरका रूपमा ग्रहण गर्नेछ भन्ने अपेक्षा स्वाभाविक छ ।

विगतका विभिन्न राजनीतिक मोडहरूमा नेपाली कांग्रेसले लोकतन्त्र स्थापनादेखि संवैधानिक व्यवस्था निर्माणसम्म महत्त्वपूर्ण योगदान पु¥याएको इतिहास सबैलाई स्मरणीय छ । तर लोकतन्त्रमा इतिहास मात्र पर्याप्त हुँदैन जनताको वर्तमान अपेक्षा र भविष्यको दृष्टिकोणलाई आत्मसात् गर्दै निरन्तर सुधार र नवीकरण आवश्यक हुन्छ । यही आत्मपरिवर्तन, संगठनात्मक सुदृढीकरण र जनतासँगको प्रत्यक्ष सम्बन्ध सुदृढ बनाउने प्रक्रियामार्फत नेपाली कांग्रेस अझ परिपक्व, उत्तरदायी र सक्षम राजनीतिक शक्तिका रूपमा पुनः उदाउने विश्वास धेरैको मनमा जीवित छ ।

अन्ततः लोकतन्त्र स्थायी विजय वा स्थायी पराजयको खेल होइन, यो निरन्तर विश्वास जित्ने र त्यसलाई कायम राख्ने प्रतिस्पर्धात्मक प्रक्रिया हो । जनताको विश्वास प्राप्त गर्नु जति महत्वपूर्ण छ, त्यसलाई व्यवहार, परिणाम र उत्तरदायित्वद्वारा जोगाइराख्नु त्यति नै महत्वपूर्ण हुन्छ । त्यसैले आजको जनमतलाई सम्मान गर्दै, राष्ट्रको समृद्धि, स्थिरता र सुशासनका लागि सबै राजनीतिक शक्तिहरूले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नु आवश्यक छ ।

समयसँगै आत्मसुधार गर्दै, नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र जनमुखी एजेन्डासहित नेपाली कांग्रेस पुनः जनविश्वासको केन्द्रमा स्थापित हुनेछ भन्ने विश्वास लोकतन्त्रमा आस्था राख्ने सबैको साझा अपेक्षा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *