काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । पेट्रोल र डिजेलमा समान १५ रुपैयाँले बृद्धि गरिएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यबृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ ।
नयाँ मूल्य अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टितेल १८२ रुपैयाँ पुगेको छ । पेट्रोलको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा १९९ सम्म पुगेको थियो । निगमले मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढ्दा पाक्षिकरुपमा करिब १३ अर्ब २१ करोड घाटा भएको जनाएको छ ।
मूल्य बढाउँदा पनि घाटा
नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ प्रतिलिटर १५ रुपैयाँले बढाए पनि अझै ठूलो घाटा व्यहोरिरहेको जनाएको छ । मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा र डिजेलमा १२० रुपैयाँ ५४ पैसा घाटा रहेको छ ।
निगमका अनुसार खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा छ। पछिल्लो मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक -१५ दिनमा) रूपमा अझै ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको निगमले जनाएको छ । सोही कारण इन्डियन आयल कर्पोरेसन -आईओसी) बाट पछिल्लो पटक प्राप्त खरिद मूल्य निकै बढेर आएको निगमले जनाएको छ ।
ग्यासमा ४१६ रुपैयाँ घाटा भए पनि निगमले बढाएन मूल्य
निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन । प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा हुँदाहुँदै पनि निगमले आम उपभोक्तालाई राहत दिन ग्यासको मूल्य यथावत् राखेको जनाएको छ ।
निगमद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनबाट बढेर आएको नयाँ खरिद मूल्यअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा छ । तर सञ्चालक समितिले चैत २० गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मात्र समायोजन गरेको छ ।
