सिन्धुपाल्चोक । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलम्चीद्वारा आयोजना गरिएको महिला उद्यमशीलता तालिम कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाले सदस्यहरूको सीप विकास, जीविकोपार्जन वृद्धि तथा आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिम कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा सहभागी महिलाहरूलाई उद्यम सञ्चालन, सीप अभिवृद्धि तथा आयआर्जनका विभिन्न पक्षहरूबारे प्रशिक्षण प्रदान गरिएको थियो ।
महिलाहरूको सशक्तीकरण तथा आत्मनिर्भरतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस संस्थाले मेलम्चीमा विविध विषयमा छलफल गर्दै एकदिने गोष्ठी सम्पन्न गरेको हो ।
मानुषी लघुवित्तले विगतदेखि नै महिलालाई प्राथमिकतामा राखेर विना धितो कर्जा प्रवाह गर्दै आएको छ । बचत सङ्कलनका लागि ग्रामिण भेगसम्म पुगेर घरदैलो कार्यक्रम गर्दै महिलाहरूलाई आत्मनिर्भर तथा उद्यमी बनाउन उत्प्रेरित गर्दै आएको छ ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका ३२ जना महिलाहरुको सहभागीता रहेको थियो । उहाँहरुको आकाङ्क्षा, योजना, अवसर, सम्भावना र समाधानका उपायसहित छलफल भएको संस्थाका प्रदेश म्यानेजर विद्या बज्राचार्यले जानकारी दिनुभयो ।
ग्रामीण भेगका महिलाहरूलाई सशक्तिकरण बनाउन मानुषी लघुवित्तले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बज्राचार्यले जानकारी दिनुभयो । महिलाहरू उद्यमशील तथा आत्मनिर्भर हुन आफैं अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । परिवर्तित समयसँगै महिलाहरूले ज्ञान, सिप, क्षमताको पनि अभिवृद्धि गर्नुपर्ने धारणा म्यानेजर बज्राचार्य व्यक्त गर्नुभयो ।
आर्थिक परिवर्तन ल्याउन र महिलाहरुको मर्म भावनालाई आत्मसाथ गर्न मानुषी सदैव तत्पर रहेको बज्राचार्यको भनाइ थियो । कार्यक्रममा मानुषी लघुवित्तबाट कर्जा लिई व्यवसाय गरिरहेका सफल उद्यमीहरूले आफ्ना सङ्घर्ष र भोगाइहरू प्रस्तुत गरेका थिए । महिलाहरूका लागि मानुषी सदैव आवश्यक रहने उनीहरूको भनाई थियो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले छलफलबाट आएका माग, योजना तथा आकाङ्क्षालाई नगरपालिकाले पनि आगामी कार्यक्रममा समाबेश गर्न प्रयत्न गर्ने बताउनुभयो । उहाँले निरन्तररुपमा लाग्न आग्रह गर्दै संस्था, स्थानीय तह र अन्य निकाय मिलेर आत्मनिर्भरको बाटोमा लाग्ने बताउनुभयो ।
