काठमाडौँ । सरकारले लामो तथा मध्यम दुरीका (अन्तर प्रदेश) यात्रुवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ । बढेको नयाँ सूचीअनुसार भाडा एउटै रुटमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ५२४ रुपैयाँसम्मले बढेको छ ।
सार्वजनिक गरिएको २८० वटा विभिन्न रुटहरूको भाडा सूचीअनुसार सबैभन्दा कम नारायणगढ–कावासोती बजारसम्म १८ रुपैयाँ भाडा बढेको छ भने सिन्धुलीमाढी–बर्दिबास रुटमा १९ रुपैयाँ भाडा बढेको छ। सबैभन्दा धेरै काठमाडौँ–अत्तरिया हुँदै बाजुराको मार्तडी पुग्ने रुटमा ५२४ रुपैयाँ भाडा बढेको छ ।
काठमाडौँ–अत्तरिया–चैनपुर -बझाङ) रुटमा ५२० रुपैयाँले बढेर ३ हजार ६३५ रुपैयाँ पुगेको छ। काठमाडौँबाट बाहिरिने प्रमुख गन्तव्यहरूको भाडा पनि उल्लेख्यरूपमा बढेको छ । काठमाडौँबाट पोखरा जाने यात्रुले अब १०९ रुपैयाँ बढी तिर्नुपर्नेछ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको कारण देखाउँदै नेपालमा पनि इन्धनको मूल्य बढेको छ। यसकारण व्यवसायीहरुले सवारी साधनको भाडा बढाउनु पर्ने माग राख्दै आएका थिए ।
आज सरकारले भाडा बढाएको हो । तर अन्तर्राष्ट्रिय बजारमा आजदेखि इन्धनको मूल्यमा गिरावट आएको छ र मंगलबारदेखि नेपाल सरकारले पनि इन्धनको मूल्यमा लगाइएको कर ५० प्रतिशत घटाउने निर्णय गरेको थियो। तर आज भाडा बढाएपछि यसको आलोचना भइरहेको छ ।
पेट्रोलियम पदार्थको मूल्य पुनः बृद्धि, हालसम्मकै उच्च बिन्दुमा पुग्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो ।
निगमले बिहीबार राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय रुपैयाँका दरले वृद्धि गरिएको छ । निगमका अनुसार हवाई इन्धन -आन्तरिक)तर्फ प्रतिलिटर छ रुपैयाँका दरले वृद्धि गरिएको छ ।
नयाँ मूल्यसूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर दुई सय १९ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर दुई सय सात रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ पुगेको छ । त्यस्तै हवाई इन्धन -आन्तरिक)तर्फ प्रतिलिटर दुई सय ५७ रुपैयाँ कायम गरिएको छ ।
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करका नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनुपरेको दाबी गरेको छ । यो मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिकरूपमा करिब सात अर्ब ८१ करोड घाटा हुने निगमको दाबी छ ।
