काभ्रे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले पत्रकारहरुसँग आफ्नो पहिलेदेखि नै निकट सम्बन्ध रहेको बताउनुभएको छ ।
बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका नवनिर्वाचित कार्यसमिति, प्रदेश र केन्द्रीय परिषद सदस्य लगायतलाई सम्मान कार्यक्रम आयोजना गर्दै बिहीबार उहाँले पत्रकारसँग आफूले लामो समयदेखि नजिक रहेर काम गरेको अनुभव सुनाउनुभयो ।
आफू समन्वय प्रमुख हुनुभन्दा पहिलेदेखि नै पत्रकारहरुसँग घुलमिल हुने अवसर पाएको स्मरण गर्दै उहाँले नवनिर्वाचित कार्यसमितिलाई वधाई र शुभकामना दिनुभयो । आगामी दिनमा पनि संचार माध्यम र संचारकर्मीसँग नजिक रहेर काम गर्ने बताउँदै प्रमुख गौत्तमले पत्रकारहरुले सत्यतथ्य सूचना बाहिर ल्याउनका लागि खेलेको भूमिकाको प्रशंसा पनि गर्नुभयो । उहाँले नागरिकका समस्यामा केन्द्रीत रहन र काममा आउने कुनै पनि समस्याका लागि मिलेर जान आफू सधैं तयार रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी पिताम्बर पाण्डे, जिल्ला समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङलगायतले निर्वाचित सबै पत्रकारहरुलाई वधाई दिँदै सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।
सोही कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष बद्रीराज तिमल्सिनाले आफ्नो कार्यकालमा जिल्ला समन्वय समिति लगायत सबैसँग राम्रो सम्बन्ध रहेको र नयाँ कार्यसमितिले यसलाई निरन्तरता दिनुपर्ने भन्दै नयाँ कार्यसमितिलाई वधाई र शुभकामना दिनुभयो । महासंघका नवनिर्वाचित अध्यक्ष बिनोदकुमार न्यौपानेले सही सूचना प्रवाहमा आफूहरु सधैं सतर्क रहेर काम गर्ने र जिल्ला समन्वय समितिसँग विगतमा झैं सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँले आफ्नो कार्यसमिति भर्खरै मात्र निर्वाचित भएकाले धेरै कामहरु गर्न बाँकी रहेको र बोलेरभन्दा काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *