ज्ञानमणि नेपाल कालोटोपी
कुन्तावेँसी । काभ्रेको उत्तरी क्षेत्रको अन्तिम पालिका मण्डनदेउपुर नगरपालिकाको आधारभूत अस्पतालमा अहिले सेवाग्राहीहरुको चाप बढेको छ । विगतमा यहाँको सेवा भरपर्दो नभएको गुनासोहरु आइरहेकोमा गत मंशिर २१ गतेदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रेफर सेवा शुरु भएसँगै बिरामीको चाप बढेको हो । यससँगै अस्पतालले दिने अन्य सेवाहरु पनि थपिएका छन् ।
त्यसअघि दैनिक १० जना जति मात्र बिरामी आउने गरेका भएपनि हाल ७० देखि ९० जनासम्म बिरामी आउने गरेका अस्पताल प्रमुख डा. सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ मण्डनदेउपुरका अतिरिक्त पाँचखाल, सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्चीबाट पनि अहिले सेवाग्राही आइरहेका छन् । यहाँबाट स्वास्थ्य बीमा सेवाको प्रारम्भिक उपचार शुरु गरेपछि अस्पतालमा उपचार सम्भव नभए मात्र अन्यत्र रेफर गर्ने गरिएको छ ।
अस्पतालबाट सुगर र प्रेसरका बिरामीहरुलाई दिइने उपचार सेवाहरु पनि दिइने गरिएको छ । यसअघि उहाँहरु धुलिखेल र बनेपाका अस्पतालमा जानु पर्ने बाध्यता थियो । यहाँ पर्याप्त जनशक्तिको अभावले २४ सै घण्टा स्वास्थ्य बीमा र पूरै दिन एक्सरेको सुविधा दिलाउन भने सकिएको छैन ।
यहाँ घाउचोट लागेका बिरामीका लागि टाँका लगाउनेसम्मको उपचार पनि दिइन्छ भने केही महिनादेखि इसिजीदेखि एक्सरे सेवा पनि उपलब्ध छ । अस्पतालबाट डिजिटल विधि अपनाएर सेवा प्रवाह भइरहेका छन् । यदि कुनै बिरामीले पुरानो रिपोर्टहरु ल्याएको छैन वा उसले कुन औषधि सेवन गरिरहेको छ भन्ने कुराको अस्पतालले डिजिटल रेकर्ड राख्छ । जसबाट बिरामीले झण्जट बेहोर्नु पर्दैन । स्वास्थ्य बीमाको भुक्तानी अस्पतालले भोगिरहेका अवस्थामा केही महिनामा बजेटको पूर्ण सुनिश्चित गर्नका लागि आवश्यक पहल गरिएको अस्पताल प्रमुख डा. श्रेष्ठको भनाइ ।
मण्डनदेउपुर नगरपालिका वडानम्बर ७ मा रहेको यो अस्पताल विगत ५ वर्षदेखि संचालनमा छ । हाल ५ शैयाको अस्पतालको रुपमा सेवा प्रवाह भइरहेको यहाँबाट अबको एक वर्षभित्रैमा थप १५ शैयाको अस्पताल संचालन गर्ने तयारी भइरहेको नगरप्रमुख टोकबहादुर वाइवाले जानकारी दिनुभयो । अस्पताल भवन निर्माणको हाल ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । यससँगै उपचारका लागि बिरामीहरुले धुलिखेल, बनेपा, पाँचखाल, काठमाडौंसम्म धाउनु पर्ने बाध्यता विस्तारै हट्ने उहाँको विश्वास छ ।

वागमती प्रदेशकै पहिलो वातानुकुलित खोप केन्द्र
मण्डनदेउपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालमा वागमती प्रदेशमै पहिलो वातानुकुलित खोप केन्द्र संचालनमा आएको छ । नगरप्रमुख टोकबहादुर वाइवाले वैशाख ११ गते सो खोप केन्द्रको उद्घाटन गर्नुभयो ।
मौसमको जस्तो प्रतिकुलता भएपनि संवेदनशील अवस्थामा रहेका आमा र शिशुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर वागमती प्रदेशको पहिलो वातानुकुलित खोप केन्द्रको स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक दिपक घिमिरेले जानकारी दिनुभयो ।
खोप केन्द्र समयसापेक्ष बनाइनु खुशीको कुरा भएको बताउँदै जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलका खोप अधिकृत पार्थमणि न्यौपानेले अझै पनि हरेक रोगहरुको जोखिम कायमै रहेकाले स्वास्थ्य सेवा प्रवाह गर्दा स्वास्थ्य सतर्कता अपनाइ काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वमा खोपको अवस्था र नेपालमा हाल भइरहेका खोप कार्यक्रमका बारेमा पनि उल्लेख गर्दै वागमती प्रदेशका ११९ वटा पालिका मध्ये मण्डनदेउपुर नगर अस्पतालमा वातानुकुलित खोप केन्द्र संचालनमा आउनु गौरवको कुरा भएको बताउनुभयो ।
नगर उपप्रमुख विष्णुमणि नेपालले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको बताउँदै भोलिका सन्ततीहरुका लागि वातावरण अनुकूल खोप केन्द्र स्थापना गर्नु नगरकै ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँले हाल नगर आधारभूत अस्पतालबाट यो सेवा शुरु भएको र विस्तारै नगरका सबै वडाका खोप केन्द्रहरुमा वातानुकुलित खोप केन्द्र संचालनमा ल्याउने लक्ष्य रहेको बताउनुभयो ।
नगरप्रमुख टोकबहादुर वाइवाले नगरले स्वास्थ्य क्षेत्रमा शुरुदेखि नै विज्ञहरुको सल्लाहमा काम गरिरहेको बताउनुभयो । खोप समयमा नलगाउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा रहने उल्लेख गर्दै उहाँले नगरपालिकाले वातानुकुल कक्षसहितको खोप केन्द्र संचालनमा ल्याएर राम्रो काम गरेको बताउनुभयो ।
वातानुकुलित खोप केन्द्रका मुख्य विशेषताहरूः
खोपको गुणस्तर संरक्षण ः एसीले कोठाको तापक्रमलाई नियन्त्रणमा राख्छ, जसले खोपलाई बिग्रनबाट बचाउँछ र यसको प्रभावकारिता कायम राख्छ ।
स्वास्थ्यकर वातावरण ः यो केन्द्र सफा र व्यवस्थित हुन्छ, जसले खोप सेवाग्राहीलाई आरामदायी अनुभव प्रदान गर्छ ।
नियमित सेवा ः यस्ता केन्द्रहरूबाट तोकिएको मिति र समयमा खोप सेवा प्रदान गरिन्छ ।
कति छन् खोप लगाउने बालबालिका ?
मण्डनदेउपुर नगरपालिकामा रहेका १२ वडामा ३० वटा खोप केन्द्रहरु छन् । जसमध्ये २८ वटा केन्द्रले आफ्नै भवनबाट सेवा दिइरहेका छन् भने २ वटा केन्द्रले मात्र भाडाका भवनबाट सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख घिमिरे बताउनुहुन्छ । उहाँले दिनुभएको जानकारी अनुसार हाल नगरमा १ हजार ७९३ जना ५ वर्ष मुनीका बालबालिका छन् । गत वैशाख ६ र ७ गते उनीहरुलाई भिटामिन ए जुकाको औषधि खुवाइएको थियो । यसका लागि नगरका १२ वटै वडामा ६४ जना स्वयंस्वेविका परिचालन भएका शाखा प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

नगरमा दीर्घरोगी विरामी कति ?
नगरपालिकाले दिएको जानकारी अनुसार समग्र पालिकामा ९९ जना कडा दीर्घ रोगका बिरामी रहेका छन् । जस अन्तर्गत क्यान्सर, मृर्गौला रोगी, स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएकालगायतका बिरामी पर्दछन् । उनीहरुलाई राज्यले मासिक ५ हजार औषधि उपचार खर्च प्रदान गर्दै आइरहेको छ । राज्यले दिने तर दोहोरो सुविधा नलिएका बिरामीले मात्र यस्तो सेवा पाउने गरेका छन् ।
नगरपालिकाको वडानम्बर १ मा ४ जना, वडानम्बर २ मा ८ जना, वडानम्बर ३ मा ६ जना, वडानम्बर ४ मा ३ जना, वडानम्बर ५ मा १० जना र वडानम्बर ६ मा ९ जना बिरामीले यो सुविधा पाइरहेका छन् । यस्तै वडानम्बर ७ मा ६ जना, वडानम्बर ८ मा ७ जना, वडानम्बर ९ मा ११ जना, वडानम्बर १० मा १३ जना, वडानम्बर ११ मा १२ जना र वडानम्बर १२ मा ८ जना यस्ता बिरामी रहेको प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
