धुलिखेल । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत जनस्वास्थ्य कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकको आयोजनामा “राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि पुनर्ताजगी तालिम” कार्यक्रम विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको छ । समुदायस्तरमा स्वास्थ्य प्रवद्र्धन, रोग रोकथाम, मातृ तथा शिशु स्वास्थ्य, पोषण, खोप तथा अन्य आधारभूत स्वास्थ्य सेवामा स्वयंसेविकाहरुको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो ।
तालिम कार्यक्रमको पहिलो चरण २०८२ साल चैत २३ गतेदेखि २६ गतेसम्म जनस्वास्थ्य कार्यालय, धुलिखेलको सभाहलमा जनस्वास्थ्य कार्यालय धुलिखेलका कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षतामा सञ्चालन गरिएको थियो । उक्त तालिममा २५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । तालिमका प्रशिक्षकहरु नवराज दाहाल र बलराम पौडेल रहनुभएको थियो भने सहजीकर्ताका रुपमा जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी दोस्रो चरणको तालिम बनेपा नगरपालिकाको सभाहलमा २०८३ साल वैशाख ८ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिएको थियो । उक्त तालिममा २५ जना स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षकका रुपमा मदन कुमार पौडेल, सरस्वती शर्मा तथा ललिता आचार्य रहनुभएको थियो भने सहजीकर्ताका रुपमा जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरु रहनुभएको थियो ।
तेस्रो चरणको तालिम पनौती नगरपालिकाको सभाहलमा २०८३ साल वैशाख १२ गतेदेखि १५ गतेसम्म बिहान १० बजेदेखि सञ्चालन गरिएको थियो । तालिममा २५ जना स्वयंसेविकाहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा दिनमान गुरमच्छान र दुर्गाप्रसाद पोखरेलले प्रशिक्षण दिनुभएको थियो भने सहजीकर्ताका रुपमा जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी चौथो चरणको तालिम बेथानचोक गाउँपालिकामा बिहान १० बजेदेखि २०८३ साल वैशाख २१ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको थियो । उक्त तालिममा २१ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । तालिमका प्रशिक्षकहरु दिनमान गुरमच्छान र साजन के.सी. रहनुभएको थियो भने सहजीकर्ताका रुपमा जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरु रहनुभएको थियो । उक्त पुनर्ताजगी तालिममार्फत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको ज्ञान, सीप तथा कार्यक्षमता अभिवृद्धि भई समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

