पनौती । जिल्लाको पनौती नगरपालिका वडानम्बर ८ मा रहेको भालेश्वर माविले विगत दुई वर्षदेखि कक्षा ११ मा विज्ञान विषयको पढाई शुरु गरेको थियो । यस वर्ष यहाँ तेस्रो वर्षका लागि यस संकायमा भर्ना हुँदैछ । यसअघि व्यवस्थापन र शिक्षा संकायमा अध्यापन हुने गरेकोमा विज्ञान विषयमा पनि पढाइ भएसँगै विद्यालयमा विद्यार्थीको चाप बढेको विद्यालयले जनाएको छ ।
पछिल्ला दिनहरुमा आमजनमानसमा सरकारी विद्यालयप्रति वितृष्णा पैदा भइरहेको र विद्यार्थी संख्याहरु पनि घटिरहेको छ । सरकारले वर्षेनी शिक्षा क्षेत्रमा अर्बौं लगानी गरे पनि सो अनुरुप प्रतिफल भने आएको छैन तर भालेश्वर मावि नै एउटा यस्तो विद्यालय भएको छ, जसमा अहिले पनि कक्षा नर्सरीदेखि कक्षा १२ सम्म गरि करिब १ हजार २०० विद्यार्थी अध्ययन गरिरहेका छन् । वरिपरिका बस्तीमा निजी विद्यालयहरु नखुलेका होइनन् तर यहाँको शिक्षा निजी विद्यालयको भन्दा कम छैन । त्यसैले भालेश्वर माविमा दिनप्रतिदिन विद्यार्थीको चाप बढीरहेको विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले बताउनुभयो ।
सरकारी विद्यालयमा के गतिलो पढाई हुन्छ र भन्ने अभिभावकको भ्रमलाई यस विद्यालयले चिरेको छ । ३४ रोपनी जग्गामा फैलिएको विद्यालयमा सबै भवनहरु भूकम्प प्रतिरोधी छन् । उच्च भागमा अवस्थित भएकाले यहाँको हावापानी पनि चिसो छ भने वरिपरि हरियाली जंगलहरुले यहाँबाट देखिने दृष्यहरु निकै मनमोहक पनि छन् । विद्यालयले यसअघिका नतिजाहरुमा पनि उल्लेख्य प्रगति गरेको प्रधानाध्यापक थापा बताउनुहुन्छ । उनका अनुसार ०८१ सालको एसईईमा विद्यालयबाट ११६ जना विद्यार्थी सहभागी भएकोमा शतप्रतिशत नतिजा आएकोमा यस वर्ष भने ११३ जना विद्यार्थी परीक्षामा सहभागी थिए । जसमा ११० जना उत्कृष्ट अंक ल्याउँदै उत्तीर्ण भएका छन् ।
सरकारले निःशुल्क शिक्षाको अवधारणा अघि सारेको छ । नेपालको संविधान ०७२ मै यसको उल्लेख पनि गरेको छ तर विभिन्न शीर्षकमा अहिले पनि शुल्क लिइरहेको छ । एसईईको परीक्षा आवेदन शुल्क, कक्षा ९ मा रजिष्टेशन शुल्क, कक्षा ११ मा रजिष्टेशन र परीक्षा शुल्क, कक्षा १२ मा परीक्षा शुल्क, त्यसपछि ट्रान्सकिप, माइग्रेसन, प्रोभिजनल सर्टिफिकेटका लागि पनि शुल्क लिने गरेको छ । जसले गर्दा यस विद्यालयले पनि सरकारकै निर्देशन अनुसार कम शुल्क उठाउने गरेको विद्यालयले जनाएको छ । यी शीर्षकमा सरकारले बजेट छुट्याउने हो भने विद्यार्थीसँग कुनै पनि शुल्क लिनु नपर्ने र विद्यालयले नलिने पनि जनाएको छ । स्थानीय पाठ्यक्रम पनि समावेश गरेको भालेश्वरले आगामी दिनमा विद्यार्थीलाई प्रविधीमा आधारित शिक्षा प्रदान गर्ने जनाएको छ ।
विद्यालयको इतिहास
यो विद्यालय विसं. २०११ साल माघ १७ मा शुरु भएको थियो । त्यतिबेला पूर्व १ नम्बर काभ्रेपलाञ्चोक इलाका (का.प.इ.) पनौती स्थित भिन्दाल गाउँमा शिक्षा प्रचार गरि निरक्षरता हटाउनका लागि यस भेगका विभिन्न ५५ जना अग्रज व्यक्तिहरुको भेलाबाट गाउँको पिपलको रुखमुनीबाट पढाई शुरु भएको हो । त्यसयता यसले २०१४ साल जेठ २ मा भालेश्वर राष्ट्रिय प्राथमिक विद्यालय, २०३४ सालमा निमावि, २०४६ सालमा मावि र २०६७ सालमा उच्चमाविको सम्बन्धन प्राप्त गरेको थियो । आगामी जेठ २ गते विद्यालयले ६९ औं वार्षिकोत्सव मनाउँदैछ ।


विद्यार्थी संख्या
विसं. २०७४ सम्म विद्यालयमा बालविकास कक्षादेखि १२ कक्षासम्म ४६७ जना विद्यार्थी थिए । त्यसयता हाल गत शैक्षिक शत्रमा १ हजार १०० भन्दा बढी संख्या पुगेको थियो । अझै यो वर्ष कक्षा ११ मा भर्ना हुन बाँकी रहेकाले विद्यार्थी संख्या अझै बढ्ने विद्यालयको अपेक्षा छ ।
निजी छोडेर सरकारीमा चाप
भालेश्वर माविको शैक्षिक गुणस्तरले गर्दा यहाँ पछिल्ला केही वर्ष यता निजी विद्यालय छोडेर पढ्न आउने विद्यार्थीको संख्या बढेको छ । विद्यालयको विगत पाँच वर्षको नतिजा हेर्दा एसईई परीक्षामा अधिकांश विद्यार्थीहरु उत्कृष्ट जिपिए ल्याइ प्राय विषयमा ए प्लस, ए र बि प्लस ग्रेड हासिल गर्न सफल भएका छन् । त्यसैले गर्दा निजी विद्यालय छोडेर यो सामुदायिक विद्यालयमा विद्यार्थी बढेका हुन् । आगामी दिनमा पनि यो भन्दा बढी राम्रो नतिजा ल्याउने गरि काम गर्ने विद्यालयको लक्ष्य छ ।
विगतमा विद्यालयले पार गरेका चुनौती
भालेश्वर माविले यसअघि धेरै चुनौतीहरुको सामना गरेर अहिलेको अवस्थामा आएको विद्यालयका प्रधानाध्यापक थापाले बताउनुभयो । त्यतिबेला साँघुरो विद्यालय हाताका कारण थप भवनहरु बनाउन सकिएन । जसले गर्दा यहाँ पढ्न इच्छा राख्ने विद्यार्थीलाई पनि पढाउन नसकिएको उहाँको अनुभव छ । अहिले विद्यालयले यस्तो समस्या भोग्नु परेको छैन । नमुना र आकर्षक भवनहरु निर्माण भएका छन् । त्यतिबेला आफ्नै भवन नहुँदा केही कक्षाहरु भाडाका घरमा संचालन गर्नुपरेको थियो । उचित खेल मैदानको अभावले विद्यार्थीहरुले खेलकूद गतिविधिमा चाहेर पनि भाग लिन नपाएको अवस्था थियो । २०७५ सालयता विद्यालयले पाथीभरा सामुदायिक वन क्षेत्रमा रहेको जग्गा विद्यालयको नाममा मिलाउँदै जग्गा व्यवस्थापन गरेर पक्की भवनहरु निर्माण गरेको छ ।
आगामी लक्ष्य
विद्यालयले उल्लेखित विभिन्न विषयहरुका साथै आगामी दिनमा ल्याब हाउस र लाइब्रेरी निर्माणको लक्ष्य बोकेको छ । शिक्षक छात्रबास, विद्यार्थी छात्रबास, फूटबल मैदानको व्यवस्थापनको लक्ष्य पनि रहेको छ । यस्तै गुणस्तरिय शिक्षा प्रदान गर्दै सबै विषयमा ए र ए प्लस ग्रेडसहित विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य रहेको विद्यालयले जनाएको छ । विभिन्न चुनौती पार गर्दै यहाँसम्म आइपुगेको यस भालेश्वर विद्यालयले काम गराईका क्रममा आएका कमीकमजोरी सुधार गर्दै अघि बढ्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *