भकुण्डे । काभ्रेको नमोबुद्ध स्थित भकुण्डेमा रहेको जनक माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमबाट यस वर्ष करिब ६ हजार केजी आलु फलेको छ ।
विद्यार्थीहरूले आफ्नै मिहिनेतले रोपेको आलु दिवा खाजाका रूपमा प्रयोग गर्न थालेका छन् । आफ्नै पसिनाले फलाएको आलु उसिनेर नुन खुर्सानीसँग खाँदा खाजाको स्वाद मात्रै होइन, परिश्रमको मिठास पनि थपिएको विद्यार्थीहरुले बताए ।
यस कार्यक्रमले विद्यार्थीहरूमा श्रमप्रतिको सम्मान, आत्मनिर्भरता र सहकार्यको भावना विकास गरेको विद्यालयले जनाएको छ । खेतमा गरेको सानो प्रयास आज सबैका अनुहारमा खुसी बनेर फैलिएको देख्दा विद्यालय परिवार गर्व गर्दछ ।
दिवा खाजा र विद्यालयको छात्रवासका लागि आवश्यक केही मात्रामा आलु विद्यालयमै राखी बाँकी बिक्री गरिने विद्यालयले जनाएको छ ।
