बनेपा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार नतिजा सार्वजनिक गरेको हो । जसअनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् । चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो । सोही निर्णय अनुसार सोमबार नतिजा सार्वजनिक गरिएको हो ।
नतिजा अनुसार जिपिए–१.६० देखि २.० ल्याउनेको संख्या ७ जना रहेको छ । यस्तै जिपिए–२.० देखि २.४० ल्याउने ५ हजार १९० जना, जिपिए–२.४० देखि २.८० सम्म ल्याउनेको संख्या ५५ हजार ९७७ जना रहेका छन् ।
यसैगरि जिपिए–२.८० देखि ३.२० सम्म ल्याउनेको संख्या ९४ हजार २२२, जिपिए–३.२० देखि ३.६० सम्म ल्याउने ८० हजार ३७२, र जिपिए– ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार ३९२ रहेको बोर्डले जनाएको छ । समग्रमा ननग्रेडेड १ लाख ४६ हजार ५०७ र ग्रेडेड २ लाख ८४ हजार १६० जना रहेका छन् ।
काभ्रेमा ७७.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसईईको नतिजामा काभ्रेपलाञ्चोक जिल्लामा ११ जना विद्यार्थीको चार जिपिए आएको छ । शिक्षा विकास तथा समन्वय इकाई धुलिखेलले दिएको जानकारी अनुसार ८ सय ३८ जनाको ३.६० देखि ४ जिपिएभन्दा कम, १ हजार ३ सय ७७ जनाको ३.२० देखि ३.६० भन्दा कम जिपिए आएको छ ।
यस्तै, १ हजार ३ सय ६५ जनाको २.८० देखि ३.२० भन्दा कम जिपिए आउँदा ८ सय ९२ जनाको २.४० देखि २.८० जिपिए भन्दा कम नतिजा आएको छ । १ सय ५ जनाको २.०० देखि २.४० जिपिएभन्दा कम प्राप्त भएको छ ।
जिल्लाभरिमा कुल ४ हजार ५ सय ८८ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने १ हजार ३ सय ४३ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । कुल ५ हजार ९ सय ३१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा साधारण र प्राविधिकतर्फ गरी ७७.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्राविधिक तर्फका ८८.७३ र साधारण तर्फका ७६.९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस वर्ष जिल्लामा ३३ वटा परीक्षा केन्द्रबाट विद्यार्थीहरुले परीक्षा दिएका थिए । परीक्षामा जिल्लाका ६९ वटा संस्थागत र १५० वटा सामुदायिक विद्यालय गरी कुल २१९ वटा विद्यालयबाट विद्यार्थीहरू सहभागी थिए । नियमिततर्फ ५ हजार २२७ जना, प्राविधिकतर्फ २०१ जना र ग्रेडवृद्धितर्फ २८० जना गरी कुल ६ हजार २०८ जना विद्यार्थी परीक्षामा सहभागी हुन फाराम भरेकोमा २ सय ७७ विद्यार्थी परीक्षामा अनुपस्थित थिए ।
४ जिपिए ल्याउने विद्यालयहरु
जिल्लाका ८ विद्यालयबाट ११ विद्यार्थीहरुले चार जिपिए प्राप्त गरेका छन् । सामुदायिक विद्यालय बनेपाको वडानम्बर ४ नाला, चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयका दुई जना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन् । यस्तै संस्थागततर्फ बनेपाको विद्यासागर अङ्ग्रेजी माध्यमिक विद्यालयबाट एक जना, पनौतीको नवरत्न अंग्रेजी माध्यमिक विद्यालयबाट एक जना, पाँचखालको नवप्रतिभा माध्यमिक विद्यालयबाट एक जना, साँगाको नेपाल प्रहरी स्कुलबाट एक जना, श्रीखण्डपुरको एसओएस बालग्रामबाट दुई जना, मल्पी इन्टरनेशनल पनौतीबाट एक जना र बनेपाको सिद्धार्थ एकेडेमीबाट दुई जना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन् ।
