बनेपा । अग्रज पत्रकार तथा कवि यदुनाथ देउपुरेले उहाँका स्वर्गीय माता पिताको स्मृतिमा ‘हरिमाया–पदमनिधी साहित्य पुरस्कार’ घोषणा गर्नुभएको छ । सो पुरस्कार आगामी जेष्ठ महिनामा प्रदान गर्ने गरि तीन सदस्यीय पुरस्कार छनोट समिति बनाइएको छ । शनिबार प्रगतिशील लेखक संघ काभ्रेद्वारा राखिएको नियमित कवि गोष्ठी कार्यक्रममा यसको जानकारी दिइएको हो । पुरस्कारको संरक्षकमा स्वयं रहने पत्रकार देउपुरेले बताउनुभयो ।
यसैबीच शनिबार प्रगतिशील लेखक संघ काभ्रेको आयोजनामा नियमित कवि गोष्ठी तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नर्मदेश्वरी सत्यालको उपस्थिती रहेको थियो । यसपटक स्रष्टा विशेषका रूपमा रामसुन्दर देउजा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा नवराज उत्साही, मुरहरी रायमाझी हरि, दिनेश खरेल, सरस्वती चिमोरिया, बलराम बिस्ट, शुसिला बिस्ट, यदुनाथ देउपुरे, हरिप्रसाद चौलागाईं, शारदाप्रसाद धिताल, अल्फि फोइन फालुक्पा, पूर्ण श्रेष्ठ ह्रदयाङ्कृत लगायतका कविहरूले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
प्रमुख अतिथि नर्मदेश्वरी सत्यालले कार्यक्रममा प्रस्तुत कवितामाथि समालोचनात्मक तथा समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । उहाँले आफ्नो चर्चित कविता “देशसँगै पोलिए म” समेत वाचन गर्नुभएको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साहित्यप्रेमी, सहभागी तथा हल उपलब्ध गराइदिने नेपाल शिक्षक सङ्गठन प्रति आयोजकका तर्फबाट अध्यक्ष लामाले धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको सभापतित्व रक्तिम लामाले गर्नुभएको थियो ।
