मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा केही दिन यता चोरीका घटनाहरू बढीरहेका छन् । जसले गर्दा स्थानीयहरू चिन्तामा छन् । वडानम्बर तीन स्थित साप्राङटोलमा सोमबार दिउँसो करिब २ बजेतिर एक घरमा चोरी भएको घटना सार्वजनिक भएको छ ।
स्थानीय कृष्णबहादुर तामाङ -कृष्ण माइला) को घरको ढोका फुटाई दराजमा रहेको तिलहरी तथा १ लाख रुपैयाँभन्दा बढी नगद चोरी भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र हालसम्म संलग्न व्यक्तिको पहिचान खुलेको छैन ।
केही दिनअघि मण्डनदेउपुर–६ मा पनि चोरी भएको थियो । यस्तै सोमबार दिउँसो नै वडानम्बर १० स्थित नेवारेटारका शिवराम श्रेष्ठको घरमा चोरी भएको छ । ५० हजार नगद, आधा तोला सुन लगायतका धनमाल चोरी भएको उहाँले बताउनुभयो ।
आफू बारीमा काम गर्न गएको बेला चोरी भएको र यस विषयमा प्रहरीलाई जानकारी गराएको पनि उहाँले बताउनुभयो । श्रेष्ठले चोरीमा संलग्न व्यक्ति पक्राउ गरि कारवाहीको माग गर्नुभयो ।
पछिल्लो समय दिउँसै यस्ता घटना हुन थालेपछि स्थानीय चिन्तित भएका छन् । स्थानीयवासीलाई सतर्क रहन, घरको सुरक्षा मजबुत बनाउन तथा शंकास्पद गतिविधि देखिए सम्बन्धित निकायलाई जानकारी दिन प्रहरी, पालिका तथा सम्बन्धित वडाहरूले अनुरोध गरेका छन् ।
