देवीटार । महाभारत गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध महिला सचेतना कार्यक्रम तथा नेतृत्व र क्षमता विकास तालिम उत्साहपूर्णरूपमा सम्पन्न भएको छ ।
गाउँपालिकाको सभाहलमा आयोजित सचेतना कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा महिला जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । जेठ ३१ गते वडा नम्बर १, २, ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविका तथा महिला जनप्रतिनिधिहरूका लागि कार्यक्रम सञ्चालन गरिएको थियो भने असार १ गते वडा नम्बर ५, ६, ७ र ८ का सहभागीहरूलाई समेटेर दोस्रो चरणको कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष कान्छामान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद खनाल, कार्यपालिका सदस्य बिकुमाया श्रेष्ठ, प्रहरी हवल्दार वीरबहादुर महत्तो तथा शाखा प्रमुख सङ्गीता लामालगायतले लैङ्गिक हिंसा न्यूनीकरण, महिला सशक्तीकरण र समुदायस्तरमा सचेतना अभिवृद्धिको महत्वबारे आफ्ना धारणा राख्नुभएको थियो ।
यसैबीच, महाभारत गाउँपालिकामा बालबालिकाहरूको नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि आवासीय तालिमसमेत सञ्चालन गरिएको छ । जिल्लाको सदरमुकामबाट टाढा तथा दुर्गम क्षेत्रमा रहेको गाउँपालिकामा आयोजित उक्त तालिममा विद्यार्थी र शिक्षिकासहित ४४ जनाको सहभागिता रहेको थियो ।
तालिममा कृत्रिम बुद्धिमत्ता -एआई) प्रविधिको समेत प्रयोग गर्दै लघुप्रवचन, नाटक, कथा, कविता, निबन्ध लेखन, समूह छलफल तथा नृत्यजस्ता सिर्जनात्मक माध्यमबाट नेतृत्व, व्यक्तित्व विकास र अभिव्यक्ति क्षमतासम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । सहभागीहरूले तालिमलाई ज्ञानवर्धक, प्रेरणादायी र मनोरञ्जनात्मक रहेको बताएका छन् ।
मानवअधिकारकर्मी तथा पत्रकार भोजराज तिमल्सिना लगायतका प्रशिक्षकहरूले सहजीकरण गर्नुभएको उक्त तालिम उत्साहपूर्ण र उपलब्धिमूलक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
