बनेपा । काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रम र बजेट सम्बन्धित गाउँ तथा नगरसभामा पेस गरेका छन् । असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार जिल्लाका सबै स्थानीय तहले समयमै बजेट पेस गरेका हुन् ।
जिल्लामा सबैभन्दा पहिले पनौती नगरपालिका र नमोबुद्ध नगरपालिकाले बजेट प्रस्तुत गरेका थिए । यी दुई स्थानीय तहले निर्धारित समयभन्दा अगावै नगरसभामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पेस गरी विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।
अन्य स्थानीय तहहरूले पनि आ–आफ्ना प्राथमिकता निर्धारण गर्दै बजेट प्रस्तुत गरेका छन् । अधिकांश स्थानीय तहले उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, कृषि आधुनिकीकरण, खानेपानी तथा सडक पूर्वाधारलाई प्राथमिकतामा राखेका छन् ।
स्थानीय तहहरूले अब सभाबाट बजेट पारित गरी आगामी साउन १ गतेदेखि कार्यान्वयनमा लैजाने तयारी गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, आन्तरिक आय तथा राजस्व बाँडफाँटका आधारमा बजेटको आकार निर्धारण गरेका छन् ।
धुलिखेलको बजेट १ अर्ब २३ करोडभन्दा बढी
धुलिखेल नगरपालिकाको नगर भा हलमा आयोजित १९औँ नगर सभा (आर्थिक वर्ष २०८३÷८४ को बजेट अधिवेशन) सफलतापूर्वक सम्पन्न भएको छ ।
अधिवेशनले आर्थिक वर्ष २०८३÷८४ का लागि कुल रु. १ अर्ब २३ करोड २६ लाख ५४ हजार ५ सय बराबरको बजेट समावेश भएको विनियोजन विधेयक, २०८३ सर्वसम्मतरूपमा पारित गरेको छ । नगरका कार्यवाहक प्रमुख निराजन जंगमले नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।
नगर सभाबाट वार्षिक नीति तथा कार्यक्रम २०८३, आर्थिक विधेयक २०८३, धुलिखेल नगरपालिकाको स्थिति समीक्षा २०८२÷०८३, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८३, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरणसम्बन्धी कार्यविधि, २०७५ (दोस्रो संशोधन २०८३), न्यायिक समितिको वार्षिक प्रतिवेदनलगायत विभिन्न विषयगत समितिहरूद्वारा प्रस्तुत प्रतिवेदन, निर्णय तथा नगर सभाबाट अनुमोदन हुनुपर्ने विविध नीतिगत प्रस्तावहरू सर्वसम्मतरूपमा पारित भएका छन् ।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सुशासन, दिगो विकास, प्रभावकारी सेवा प्रवाह तथा समृद्ध धुलिखेल निर्माणको प्रतिबद्धतासहित सम्पन्न नगर सभाले आगामी आर्थिक वर्षका विकास तथा सेवा प्रवाहका प्राथमिकताहरू तय गर्दै महत्वपूर्ण नीतिगत निर्णयहरू पारित गरेको जनाएको छ ।
मण्डनदेउपुरले सार्वजनिक ग¥यो १ अर्ब ३१ करोडभन्दा बढीको बजेट
मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि १ अर्ब ३१ करोड ६५ लाख ५३ हजार ३८४ बराबरको बजेट सार्वजनिक गरेको छ । नगर सभामा नगरप्रमुख टोकबहादुर वाइवाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख विष्णुमणि नेपालले बजेट प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत बजेटमध्ये पूँजीगततर्फ रु. ७८ करोड ३० लाख ८५ हजार ९५२ अर्थात ५९.४८ प्रतिशत तथा चालुतर्फ रु. ५३ करोड ३४ लाख ६७ हजार ४३२ अर्थात ४०.५३ प्रतिशत विनियोजन गरिएको छ । नगरपालिकाले कर्मचारीको तलब तथा प्रशासनिक खर्चका लागि रु. २७ करोड ९९ लाख ६६ हजार ५३४ छुट्याएको जनाएको छ ।
नगर सभामा वडा नं. ७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले सुशासन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वडा नं. ११ का वडाध्यक्ष दिपेन्द्र लामाले विधायन समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सुशासन, दिगो विकास, प्रभावकारी सेवा प्रवाह तथा समृद्ध मण्डनदेउपुर निर्माणको प्रतिबद्धतासहित नगर सभा २०८३ सफलतापूर्वक सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
पनौती नगरपालिकाद्वारा १ अर्ब ९६ करोड ९५ लाखको बजेट सार्वजनिक
काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि १ अर्ब ९६ करोड ९५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
प्रस्तुत बजेटमध्ये पूँजीगततर्फ रु. १ अर्ब ४ करोड ६८ लाख ४२ हजार अर्थात ५३.१५ प्रतिशत तथा चालुतर्फ रु. ९२ करोड २७ लाख ३३ हजार अर्थात ४६.८५ प्रतिशत विनियोजन गरिएको छ । नगर सभामा नगरप्रमुख रामशरण भण्डारीले असार ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बुधबार भने उपप्रमुख गीता बञ्जाराले बजेट प्रस्तुत गर्नुभएको थियो ।
जसको स्रोत आन्तरिक आयबाट ४० करोड ९७ लाख, राजश्व बाँडफाँडबाट २१ करोड ८३ लाख २७ हजार सरकारको संघीय वितिय हस्तान्तरणबाट ५२ करोड ६९ लाख, वितिय समानीकरण अनुदानबाट १४ करोड ४७ लाख, सशर्त अनुदानबाट ३५ करोड २४ लाख, विशेष अनुदानबाट २ करोड लगायत छन् ।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सुशासन, दिगो विकास, प्रभावकारी सेवा प्रवाह तथा समृद्ध पनौती निर्माणको प्रतिबद्धतासहित नगर सभा २०८३ सफलतापूर्वक सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
भुम्लु गाउँपालिकाको ६१ करोडभन्दा बढीको बजेट सार्वजनिक
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड २९ लाख १६ हजार ५ सय ९८ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
गाउँसभा अधिवेशनमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष जितेन्द्र लामाले बजेट प्रस्तुत गर्नुभएको थियो ।
अधिवेशनमा विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सुशासन, दिगो विकास, प्रभावकारी सेवा प्रवाह तथा समृद्ध भुम्लु गाउँपालिका निर्माण गर्ने प्रतिबद्धतासहित गाउँसभा २०८३ सफलतापूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
डिजिटल सुशासनमा जोड दिँदै बनेपाको नीति तथा कार्यक्रम सार्वजनिक
काभ्रेको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले आर्थिक वर्ष २०८३÷०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभएको छ ।
नगरसभाको १८औँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख शाक्यले सीमित स्रोतसाधनका बाबजुद नगरवासीका आवश्यकता सम्बोधन गर्दै दिगो विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो ।
नगरप्रमुख शाक्यले कृषि क्षेत्रलाई नगरको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएको अवस्थामा उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै विकास निर्माणका कामलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।
खेतीयोग्य जमिनको संरक्षण, कृषि उत्पादन क्षेत्र निर्धारण, अर्गानिक खेती प्रवद्र्धन, किसान परिचयपत्र वितरण, कृषि यान्त्रीकरण तथा शीत भण्डार निर्माणलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।
पशुपालन क्षेत्रलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन नश्ल सुधार, पशु बीमा, निःशुल्क खोप, आधुनिक वधशाला निर्माणको सम्भाव्यता अध्ययन तथा छाडा चौपाया व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ । कृषि उत्पादनलाई ब्रान्डिङ तथा प्याकेजिङमार्फत बजारसँग जोड्ने योजनासमेत नगरपालिकाले अघि सारेको छ ।
नगरकोट, नागीडाँडा, चण्डेश्वरी, गोसाइस्थान, वासुकी पार्क लगायतका पर्यटकीय क्षेत्रको संरक्षण, स्तरोन्नति र प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीय अर्थतन्त्रलाई सबल बनाउन घरेलु तथा साना उद्योग प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता विकास तथा पर्यटन क्षेत्रको विस्तारलाई प्राथमिकता दिइएको छ ।

नमोबुद्धमा ९१ करोडभन्दा बढीको बजेट प्रस्तुत
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको दोस्रो नगरसभाको नवौं अधिवेशनको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । नगरप्रमुख कुनसाङ लामाको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम, बजेट वक्तव्य, आर्थिक विधेयक, विनियोजन विधेयक, न्यायिक समितिको प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन, विभिन्न विषयगत समितिहरूको प्रतिवेदन तथा चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन पेश गरिएको थियो ।
बैठकमा नगरप्रमुख लामाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख रत्नबहादुर लामाले आर्थिक वर्ष २०८३÷०८४ का लागि अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत बजेट अनुसार नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ९१ करोड ३६ लाख ४३ हजार ९ सय १८ रुपैयाँ बराबरको अनुमानित आय प्रक्षेपण गरेको छ । जसअन्तर्गत आन्तरिक आयबाट ९ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।
त्यसैगरी बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९४ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ३ करोड ७४ लाख ४ हजार १८० रुपैयाँ, सशर्त अनुदान ६८ लाख रुपैयाँ, विशेष अनुदान ७० लाख रुपैयाँ तथा समपूरक अनुदान ३ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ६५ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ८ करोड ८६ लाख ९० हजार रुपैयाँ, सशर्त अनुदान ३० करोड ४९ लाख रुपैयाँ, विशेष अनुदान १ करोड ८० लाख रुपैयाँ तथा समपूरक अनुदान १ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । अन्य विविध आयतर्फ १६ करोड ५० लाख १४ हजार ४ सय ७४ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
नगरपालिकाले चालु खर्चतर्फ २० करोड २९ लाख ४४ हजार ७ सय ३८ रुपैयाँ विनियोजन गरेको जनाएको छ । साथै ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुर्याउने कार्यलाई निरन्तरता तथा थप व्यवस्थित गर्न ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगर सभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि आगामी बैठकहरूमा छलफल गरी पारित गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *