पनौती । जिल्लामा उत्पादित रैथाने बालीको संरक्षण, प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले पनौतीमा सक्रिय महिला तरकारी तथा फलफूल संकलन केन्द्र सञ्चालनमा आएको छ ।
सक्रिय महिला कृषि सहकारी संस्था लिमिटेडद्वारा स्थापना गरिएको उक्त संकलन केन्द्रको उद्घाटनसँगै सदस्य महिलाले उत्पादन गरेका तरकारी तथा फलफूल संकलन गरी बजारसम्म पु¥याउने कार्य औपचारिक रूपमा सुरु भएको हो ।
सहकारीकी अध्यक्ष सुमित्रा आचार्य बञ्जाराका अनुसार केन्द्रमा तरकारी तथा फलफूल संकलनका साथै धुने, सुकाउने, ग्रेडिङ, लेबलिङ, प्याकेजिङ, प्रशोधन, भण्डारण तथा कोसेली घरमार्फत बिक्री–वितरण गर्ने व्यवस्था गरिएको छ ।
उहाँले किसानले उत्पादन गरेका कृषि उपजको उचित बजारीकरण गर्दै उपभोक्तालाई गुणस्तरीय कृषि उत्पादन उपलब्ध गराउने लक्ष्यका साथ केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । साथै महिलालाई स्वरोजगार बनाउँदै आर्थिक रूपमा सशक्त बनाउन संकलन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा दक्षिण एशियाली विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले महिला सशक्तीकरणका लागि कृषि क्षेत्रको आधुनिकीकरण र औद्योगिकीकरण अपरिहार्य रहेको बताउनुभयो । उहाँले पाँचखालमा स्थापना हुन लागेको कृषि उद्योगका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै त्यसले स्थानीय कृषि उत्पादनको प्रशोधन र बजारीकरणमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपाने, उद्योगी, व्यवसायी, कृषक तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
