मेलम्ची । स्थानीय कृषि तथा रैथाने उत्पादनको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्ची बजारमा शुक्रबारदेखि कोशेली घर सञ्चालनमा आएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कोशेली घरको उद्घाटन गर्दै यस केन्द्रमार्फत स्थानीय उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने तथा बजार पहुँच सहज बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आवश्यकता अनुसार स्थानीय उत्पादनलाई जिल्ला बाहिरसमेत बजार विस्तार गरिने बताउनुभयो ।
कोशेली घरमा ताजा फलफूल, तरकारी, घरेलु अचार, मह, विभिन्न परिकारका सामग्री, अण्डा, माछा, गेडागुडी, चिया, कफी, हर्बल सामग्री तथा हस्तकलाका वस्तुसहित स्थानीय रैथाने उत्पादनहरूको प्रत्यक्ष बिक्री–वितरण गरिने जनाइएको छ ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले फार्मदेखि किचनसम्मको अवधारणाअनुसार उत्पादनलाई परिष्कृत गरी उपभोक्तासम्म पु¥याइने बताउनुभयो । उहाँका अनुसार उद्यमीहरूबीच अन्तरक्रिया गराई नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने योजना पनि रहेको छ ।
उहाँले सरकारी तथा निजी कार्यालयका कर्मचारी, पर्यटक, स्थानीय बासिन्दा र छिमेकी पालिकाका नागरिकलाई लक्षित गरी कोशेली घर सञ्चालन गरिएको जानकारी दिँदै प्रारम्भिक अनुमानअनुसार दैनिक हजारौँ ग्राहकले किनमेल गर्ने अपेक्षा गरिएको बताउनुभयो । उद्घाटन कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाध्यक्षहरू, शाखा प्रमुखहरू, उद्योगी–व्यवसायी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
