काभ्रेपलाञ्चोक । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी पाकेटमारी तथा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले फरार कैदीसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार साउन ६ गते बनेपा नगरपालिका–८ चाँदनीचोक नजिक पनौतीबाट काठमाडौं जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेका काभ्रेपलाञ्चोकका ७४ वर्षीय तीर्थबहादुर तामाङको झोलाबाट नगद रु. २६ हजार चोरी भएको थियो ।

घटनापछि अनुसन्धानमा खटिएको प्रहरीले सोही दिन अपराह्न करिब ३ः३० बजे बनेपा नगरपालिका–८ तीनदोबाटो क्षेत्रमा काठमाडौंतर्फ जाने बसमा चढेर भाग्ने क्रममा चार जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ का ३० वर्षीय आकाश भन्ने विनोदआले मगर, सोही स्थानका ३१ वर्षीय रिक्सन तामाङ भन्ने श्याम तामाङ, बेथानचोक–६ कै ३० वर्षीय सोनाम लामा, मकवानपुर फापरबारी गाउँपालिका–७ का ३५ वर्षीय बालकृष्ण मगर रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका मध्ये सोनाम लामा यसअघि झुम्का कारागार, सुनसरीबाट फरार भएका कैदी समेत हुन् ।

प्रहरीले पक्राउ परेकाहरूले २०८३ असार ३० गते नमोबुद्ध नगरपालिका–४ का ४१ वर्षीय रामशरण सापकोटाको पाकेटबाट रु. ९० हजार चोरी गरेको भन्दै पीडितले समेत जाहेरी दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *