काठमाडौं । जलवायु परिवर्तनका कारण नेपालमा बढ्दो आर्थिक तथा गैर–आर्थिक क्षति र नोक्सानीका विषयमा तथ्यपरक र जिम्मेवार पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरिएको छ । विपद् पत्रकारिता सञ्जालले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनको प्रभाव, त्यसबाट सिर्जित चुनौती तथा सञ्चारमाध्यमको भूमिकाबारे विस्तृत चर्चा गरेका हुन् ।

प्राक्टिकल एक्सन नेपालको सहयोगमा जमलस्थित दिगम्बर रिजेन्सी होटलमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब २५ जना पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै विपद् पत्रकारिता सञ्जालकी अध्यक्ष अम्बिका राजथलाले जलवायु परिवर्तनबाट उत्पन्न आर्थिक तथा गैर–आर्थिक क्षति र नोक्सानीका विषयलाई प्रमाणमा आधारित, संवेदनशील र जनउत्तरदायी ढंगले सम्प्रेषण गर्न पत्रकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । विपद् पत्रकारितालाई अझ प्रभावकारी बनाउने उद्देश्यले सञ्जालले निरन्तर क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।

जलवायु परिवर्तनसम्बन्धी प्रस्तुति दिँदै उज्ज्वल उपाध्यायले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना तीव्र रूपमा बढ्दै गएको बताउनुभयो । समाज वा राज्यको क्षमताभन्दा बढी क्षति पु¥याउने घटनालाई प्रकोपका रूपमा परिभाषित गर्दै उहाँले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि सरकारी निकाय, समुदाय र सञ्चार माध्यमबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँका अनुसार पछिल्ला वर्षहरूमा विशेषगरी सिन्धुपाल्चोक र कर्णाली क्षेत्रमा विपद्का घटना उल्लेखनीयरूपमा बढेका छन् । विगत ४५ वर्षमा नेपालमा नौ वटा ठूला हिमताल विष्फोट) भएको र तीमध्ये छ वटा घटनाले ठूलो जनधनको क्षति पु¥याएको तथ्य उहाँले प्रस्तुत गर्नुभयो । जलवायु परिवर्तनको असरबाट विशेषगरी मध्यम वर्गीय समुदाय बढी प्रभावित भइरहेको उहाँको भनाइ थियो ।

अर्का प्रस्तोता रमेश भुषालले वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा निरन्तर बढ्दै जाँदा पृथ्वीको तापक्रम वृद्धि भएको र त्यसको प्रत्यक्ष असर मानव जीवनमा देखिन थालेको बताउनुभयो । विगत ३०० वर्षमा कार्बन उत्सर्जन शतप्रतिशत वृद्धि भएको उल्लेख गर्दै उहाँले मानव विकासका गतिविधिका कारण जलवायु परिवर्तन तीव्र बनेको बताउनुभयो । त्यसको परिणामस्वरूप खडेरी, अतिवृष्टि, अनावृष्टि, आँधी–हुरीलगायतका चरम मौसमी घटनाबाट विश्वभर ठूलो क्षति भइरहेको उहाँको भनाइ थियो । उहाँले विकसित राष्ट्रहरूको उच्च कार्बन उत्सर्जनको असर गरिब तथा विकासोन्मुख मुलुकहरूले असमानरूपमा भोग्नुपरेको उल्लेख गर्दै जलवायु न्याय -ऋष्mिबतभ व्गकतष्अभ) सुनिश्चित गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले जलवायु परिवर्तन र विपद्सम्बन्धी समाचार तयार गर्दा तथ्य, वैज्ञानिक आधार, प्रभावित समुदायको आवाज तथा समाधानमुखी दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने विषयमा अन्तरक्रिया गरेका थिए । समाचारले जोखिम न्यूनीकरण, नीति निर्माण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले जलवायु पत्रकारितालाई अझ सशक्त बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *