बनेपा । बनेपा नगरपालिका–६ मा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्था सुदृढ रहेको विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सहकारीको कुल सम्पत्ति २ अर्ब ३२ करोड ५३ लाख ६४ हजार ५ सय ७३ रुपैयाँ पुगेको छ ।
विवरणअनुसार संस्थाको शेयर पूँजी करिब १४ करोड ५५ लाख रुपैयाँ, जगेडा कोष १७ करोड ९४ लाख रुपैयाँ र संस्थागत पूँजी १९ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको छ । त्यसैगरी बचत रकम १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रहेको छ भने ऋण लगानी १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
सहकारीमा १९ हजार ७ सय ९७ सदस्य आबद्ध रहेका छन् । कोपिला बाल बचतकर्ताको संख्या ८ हजार १ सय ७५ र कुल ऋणी सदस्य २ हजार ३ सय १७ रहेको विवरणमा उल्लेख छ ।
संस्थाले सार्वजनिक गरेको विवरण अनुसार तरलता र पुँजीकोष पर्याप्तता सूचक पनि सन्तोषजनक रहेको जनाइएको छ । सहकारीले वित्तीय अनुशासन, सदस्यमैत्री सेवा र प्रभावकारी व्यवस्थापनका कारण काभ्रे जिल्लाका अग्रणी बचत तथा ऋण सहकारीमध्ये आफ्नो स्थान बनाएको जनाएको छ ।
