कुन्तावेँसी । मण्डनदेउपुर नगरपालिकाभित्र पछिल्लो समय चोरीका घटनामा वृद्धि भएपछि नियन्त्रणका लागि विशेष प्रहरी टोली परिचालन गरिने भएको छ । यस विषयमा बिहीबार काभ्रेका प्रहरी प्रमुख -एसपी) रविन कार्की, चोरीबाट प्रभावित घरधनी तथा स्थानीय जनप्रतिनिधिबीच मण्डनदेउपुर नगरपालिकाको कार्यालयमा छलफल भएको थियो ।
छलफलपछि नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले चोरीमा संलग्न समूहको खोजी तथा पक्राउका लागि विशेष प्रहरी टोली परिचालन गर्ने, चोरी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र नगरको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय भएको जानकारी दिनुभयो ।
तर छलफल चलिरहेकै समयमा वडा नं. ५ र वडा नं. १२ मा थप दुई स्थानमा चोरीका घटना भएको जानकारी प्राप्त भएपछि सुरक्षा चुनौती अझ गम्भीर बनेको छ । यसैबीच, नगरपालिकाले सम्पूर्ण नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कुनै पनि शंकास्पद व्यक्ति वा समूह देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा सम्बन्धित जनप्रतिनिधिलाई जानकारी गराइदिन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाले नागरिकको जीउधनको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सबैको सतर्कता, सहयोग र सहकार्यबाट मात्रै सुरक्षित र शान्त नगर निर्माण गर्न सकिने विश्वास व्यक्त गरेको छ ।
