धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरमा शुक्रबार दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु सालक भेटिएको छ । स्थानीय बासिन्दाले सालकलाई सुरक्षितरूपमा उद्धार गरी नजिकैको जंगलमा छोडेका छन् । स्थानीयका अनुसार श्रीखण्डपुर क्षेत्रमा पहिलो पटक सालक देखिएको हो । पछिल्लो समय वरिपरिका वन क्षेत्र बढेसँगै सालकसहित अन्य जंगली जनावर र लोपोन्मुख वन्यजन्तुको आवागमन बढ्न थालेको उनीहरूको भनाइ छ ।
सालक विश्वकै सबैभन्दा बढी अवैध तस्करी हुने स्तनधारी वन्यजन्तुमध्ये एक मानिन्छ । यसको शरीर कडा खपटाले ढाकिएको हुन्छ र यसले मुख्यरूपमा कमिला तथा धमिरा खाएर जीविकोपार्जन गर्छ । यसले वनको पारिस्थितिक प्रणाली सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षण आवश्यक मानिन्छ ।
नेपालमा चिनियाँ सालक र भारतीय सालक गरी दुई प्रजाति पाइन्छन् । दुवै प्रजाति दुर्लभ तथा कानुनीरूपमा संरक्षित वन्यजन्तु हुन् । अवैध सिकार, तस्करी, वन विनाश तथा बासस्थानको ह्रासका कारण सालकको संख्या निरन्तर घट्दै गएको संरक्षणकर्मीहरू बताउँछन् ।
श्रीखण्डपुरमा सालक भेटिनुलाई स्थानीय जैविक विविधता संरक्षणका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ । वन क्षेत्रको संरक्षण, जनचेतना अभिवृद्धि तथा वन्यजन्तुमैत्री वातावरण कायम राख्न सके यस्ता दुर्लभ जीवजन्तुको संरक्षणमा थप टेवा पुग्ने विश्वास गरिएको छ । स्थानीयवासीले पनि सालक जस्ता दुर्लभ वन्यजन्तु देखिएमा समात्ने वा क्षति पु¥याउने प्रयास नगरी सम्बन्धित निकायलाई जानकारी दिई सुरक्षितरूपमा जंगलमा फर्काउनुपर्नेमा जोड दिएका छन् ।
