काभ्रे । जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले लक्ष्यसहितको कार्यविवरण हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
संघको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षको संयुक्त उपस्थितिमा संघका का.मु. प्रमुख कार्यकारी अधिकृतलाई आर्थिक वर्ष २०८३/०८४ का लागि निर्धारित कार्यसम्पादन लक्ष्यसहितको कार्यविवरण औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा संघको वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संस्थागत सुशासन, उत्तरदायित्व, पारदर्शिता, समन्वय तथा नतिजामुखी कार्यसंस्कृतिलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो। साथै, स्पष्ट लक्ष्य र जिम्मेवारी निर्धारणमार्फत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
संघका पदाधिकारीहरूले निर्धारित लक्ष्य समयमै हासिल गर्दै सदस्य सहकारी संघ–संस्थाहरूलाई अझ प्रभावकारी, गुणस्तरीय, पारदर्शी तथा उत्तरदायी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले सहकारी क्षेत्रको विकास, संस्थागत क्षमता अभिवृद्धि तथा सदस्य संस्थाको हितलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गरिने विश्वास समेत व्यक्त गरे।
संघका अनुसार, कार्यसम्पादन लक्ष्यसहितको कार्यविवरण हस्तान्तरण प्रणालीले कर्मचारी तथा व्यवस्थापनबीच जिम्मेवारी स्पष्ट गर्दै नतिजामा आधारित कार्यसम्पादन संस्कृति विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले संघको समग्र कार्यक्षमता अभिवृद्धि हुनुका साथै सदस्य सहकारी संघ–संस्थाहरूले प्राप्त गर्ने सेवाको गुणस्तरमा समेत सकारात्मक सुधार आउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *