काभ्रे । पनौती नगरपालिकाको १६ औं नगर सभा बिहीबार सम्पन्न भएको छ । सभाले गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिको पुनर्निर्माणका लागि भन्दै ४६ करोड बजेट कटौती गर्ने निर्णय गरेको छ ।
यससँगै चालु आर्थिक वर्ष २०८१÷०८२ मा प्रस्तुत गरिएको १ अर्ब ६० करोडको बजेटमा संशोधनसहित १ अर्ब १४ करोड कायम गरिएको छ । ४६ करोड बजेट योजनासहित कटौती गरिएको सभामा नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए ।
बजेटको संशोधनसहित ४६ करोड रुपैयाँ कटौती गरी केहि योजना हटाइएको र केही नयाँ विपत्तिका योजनाहरु थपिएको नगर प्रमुख भण्डारीले बताए । विपत्तिपछि रोकिएका खानीहरु केहि अघोषित र नवीकरण भएकाहरुलाई संचालनको अनुमति दिएसँगै नगरपालिकाले आन्तरिकरुपमा राजश्व उठाउन शुरु गरेको छ । उक्त श्रोतबाट चालु वर्षमा १७ करोड उठ्ने अनुमान नगरपालिकाको छ ।
नगर सभामा उपप्रमुख गीता बञ्जाराले आर्थिक ऐन २०८१ को लागि स्वीकृत बजेट तथा कार्यक्रममा पुनरावलोकनसम्वन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । चालु आर्थिक वर्ष २०८१÷०८२ को मंसिर मसान्तसम्मको आम्दानी खर्च अनुमोदनसम्वन्धी प्रस्ताव वडाअध्यक्ष दिपकप्रसाद दाहाल र १५ औं नगर सभा पश्चात हालसम्म कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरुको अनुमोदनसम्बन्धी प्रस्ताव वडाअध्यक्ष पुरुषोतम अधिकारीले प्रस्तुत गरेका थिए ।
नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा ३ करोड ११ लाख ६७ हजार ४ सय ९७ रुपैयाँ जम्मा भएकोमा १ करोड ८० लाख ९६ हजार ३ सय ५ खर्च भएको छ । संघ, प्रदेश, काठमाडौं महानगरपालिका तथा विभिन्न ब्यक्ति तथा निकायबाट प्राप्त रकम प्रकोप ब्यवस्थापन कोषमा जम्मा गरिएको थियो ।
असोज १० देखि १३ गतेसम्मको वर्षाले पनौतीमा १ जना विदेशी नागरिकसहित १९ जनाको निधन भएको थियो भने १ जना बेपत्ता छन् । ५ सय ८६ वटा घर पूर्ण क्षति भएका छन् । ९ सय ४४ वटा घर आंशिक क्षति भएका छन् । सडक, सिचाई, खानेपानी, पुल लगायतका संरचनामा पूर्ण र आंशिक क्षति भएको छ ।
सभामा नगर प्रमुख रामशरण भण्डारीले छलफलमा उठेका विषयवस्तुहरुलाई सम्बोधन गरेका थिए । सभामा प्रस्तुत भएका विषयहरु सर्वसम्वतबाट पास भए । सभामा वडा अध्यक्ष मोहनबहादुर भण्डारीले धन्यवाद प्रस्ताव पेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *