काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट प्रहरीले बिल बिजक नभएका ठूलो परिमाणका चाँदीका गरगहना तथा तयारी सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार बिहान करिब १०ः३० बजे अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको कमाण्डमा खटिएको टोलीले बीपी राजमार्गमा आवतजावत गर्ने सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त सामान फेला पारेको हो ।

प्रहरीले मोरङको लेटाङ नगरपालिका–६ बस्ने करिब ३६ वर्षीय पदमबहादुर विकले चलाएको को १ च ८६६२ नम्बरको सुमो गाडी रोकी जाँच गर्ने क्रममा मोरङको उर्लाबारी नगरपालिका–६ बस्ने करिब ४४ वर्षीय खगेन्द्र गजमेरले ल्याएको कार्टुन शंकास्पद देखिएपछि खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा कार्टुनभित्र विभिन्न प्रकारका चाँदीका गरगहना तथा तयारी सामान भेटिएका थिए । प्रहरीले सामानको बिल तथा आवश्यक कागजात माग गर्दा प्रस्तुत गर्न नसकेपछि उक्त सामान शंकास्पद देखिएको जनाएको छ । मान्यता प्राप्त तराजुमा तौल गर्दा बरामद चाँदीका सामानको कुल तौल ११ किलो ६ सय ८२ ग्राम रहेको प्रहरीले जनाएको छ । उक्त सामानको प्रारम्भिक अनुमानित मूल्य ४७ लाख रहेको छ ।

बरामद सामानमा कल्ली १३ जोर, जन्तर ५ वटा, जन्तर माला १ थान, विभिन्न प्रकारका ब्रासलेट, पोते माला, ढुङ्गी, बुलाकी, सिक्रीवाला टप, औँठी, पिंजडा झुम्का, शिरबन्दी, बल माला, कानमा लगाउने रिङ, सिक्रीवाला झुम्का, चुरा, पाउजु र खड्कुलोलगायतका सामग्री रहेका छन् । प्रहरीका अनुसार बरामद सामान, सुमो गाडी, चालक पदमबहादुर विक र सामान ल्याउने खगेन्द्र गजमेरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय गौचरण, काठमाडौं पठाइएको छ ।
बरामद सामानहरू निम्नानुसार छन् ः–
१. कल्ली १३ जोर ।
२. जन्तर ५ वटा ।
३. जन्तर माला १ थान ।
४. ब्रासलेट कालो पत्थर भएको ९ वटा ।
५. ब्रासलेट पत्थर नभएको १८ वटा ।
६. पोते माला २३ पिस
७. पोते माला पत्थर भएको १९ पिस ।
८. ब्रासलेट निलो र हरियो पत्थर भएको २१ पिस ।
९. ढुङ्गी २ पिस ।
१०. बुलाकी २ पिस ।
११. सिक्रीवाला टप ६ जोर ।
१२. औंठी ५ पिस ।
१३. पिंजडा झुम्का ५ जोर
१४. शिरबन्दी १ पिस ।
१५. बरमाला २ पिस ।
१६. कानमा लगाउने रिङ ९ जोर ।
१७. सिक्रिवाला झुम्का १४ पिस
१८. औंठी ११५ पिस ।
१९. चुरा २ पिस ।
२०. पाउजु ५४ जोर ।
२१. खड्कुलो ८ थान ।
बरामद चाँदीका सामानको स्रोत, स्वामित्व, बिल बिजक तथा भन्सारसम्बन्धी कागजातलगायत विषयमा सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *